Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

बजेट शून्यता : सरकार ‘सर्ट डाउन’मै गएको हो ?

बजेट शून्यता : सरकार ‘सर्ट डाउन’मै गएको हो ?

नेपालपाना भाद्र ३१ २०७८
  • 3.2K
    SHARES
  • बजेट शून्यता : सरकार ‘सर्ट डाउन’मै गएको हो ?

    काठमाडौं । देश आजदेखि बजेटविहीन भएको छ । अघिल्लो सरकारले ल्याएको बजेट अध्यादेश ६० दिन पुगेर निष्क्रिय भएको र सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयक संसदमा विचाराधीन रहँदा देश बुधवार राती १२ बजेदेखि बजेट शून्यतामा गएको हो ।

    बजेट शून्यतामा गएपछि कार्यपालिकाको सम्पूर्ण खर्च ठप्प भएको छ । प्रशासनिकदेखि सरकारी कार्यालयको नियमित निकासा रोकिएको छ ।

    अमेरिकामा डोनाल्ड ट्रम्पको पालामा बजेट पारित नभएर ३५ दिन 'सर्ट डाउन'मा गएसँगै नेपालमा पनि समयमै बजेट पारित नभएर पहिलोपटक 'सर्ट डाउन'को स्थिति आएको हो ।

    आजदेखि सरकारी खर्च, राज्यकोषबाट पैसा झिकेर खर्च नपाउने भएको छ । संघीय संसद र संवैधानिक निकायबाहेक कार्यपालिकाका सम्पूर्ण अंगले निकासा र भुक्तानी गर्न पाउने छैनन् । संघीय संसद, संवैधानिक अंग, ऋण तथा सावाँ खर्च भने संघीय सञ्चित कोष व्यवभारबाट हुनेछ ।

    कार्यपालिका खर्चबाट वञ्चित हुँदा प्रधानमन्त्री शेरबहादुर देउवादेखि मन्त्रीहरुको तलब रोकिएको छ । कैदीबन्दीको सिदासम्म रोकिएको छ । देश सर्ट डाउनमै गएको हो ? अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प हुँदा सिनेटबाट ३५ दिनसम्म बजेट पारित भएन । त्यो बेला देश पुरै सर्ट डाउनमा गएको थियो । सरकारी कार्यालय ठप्प भएका थिए । अहिले नेपालको बजेटविहीनताको अवस्थालाई ट्रम्पको सर्ट डाउनसँग जोडेर हेरिएको छ ।

    तर अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्य देश सर्ट डाउनमा नगएको बताउँछन् । 'सरकार पुरै सर्ट डाउन होइन । बजेट सम्बन्धी काम रोकिएको हो । सरकारले काम त गरिरहेको छ ।

    बजेट खर्च गर्न पाइएन । चेक काट्न पाइएन । अलिकति केही न केही अफ्ठेरो त भइहाल्छ । तर पुरै सर्ट डाउन होइन,' उनले भने ।

    उनले अमेरिका र नेपालको परिस्थिति फरक भएको उल्लेख गरे । 'धेरैले अमेरिकातिर जस्तो सोचे । अमेरिका र हाम्रो स्थिति फरक हो । उनीहरुको बन्दै हुने खालको हुन्छ । हाम्रो सबै कामहरु भइरहेको छ । खर्च गर्नेसँग सम्बन्धित कामहरु नभएको हो । खर्च उठिराछ । भुक्तानी गर्नुपर्ने कुराहरु केही दिन ढिला हुने हो,' उनले भने ।

    आचार्यले बजेट पारित नहुँदासम्म निकासा र भुक्तानीसम्बन्धी काम रोकिएको बताए । 'प्रत्येक दिन बजेट खर्च हुन्छ भन्ने छैन । दशैंमा पाँच दिन काम नहुँदा सरकारै बन्द हुन्छ र? प्रत्येक दिन चेक काटिराखेको पनि हुँदैन । ४ गतेसम्म नहुने हो । त्यसपछि त खुलिहाल्छ । ४ गते नै खुल्छ भन्ने मान्यतामा जानुपर्योे,' उनले भने । उनले बजेटविहीनताको अवस्थामा खर्च गर्ने कुनै वैकल्पिक उपाय नभएकोसमेत बताए ।

    'वैकल्पिक उपाय केही हुँदैन । बजेट पास हुनसम्म कुर्नपर्छ । तर कामहरु भइरहेको छ,' उनको भनाइ छ ।

    भाद्र ३१, २०७८ बिहिवार ११:३७:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाल

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana