काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले फुट र जुटको अनुभव भएको एमाले सुदृढ बनाउन चारवटा सुझाव दिएकी छन् ।
बिहीबार प्रज्ञा प्रतिष्ठानमा कार्यकर्तालाई प्रशिक्षण दिँदै उपाध्यक्ष शाक्यले एमाले सुदृढ बनाउन नेतृत्वको ध्यानाकर्षण गराइन् ।
अष्टलक्ष्मीका चार सुझाव
१) हामी विचारबाट साह्रै विचलित भयौं । वैचारिक प्रशिक्षण भएन । नवौं अधिवेशनमा दुइटा प्यानल बन्यो । निर्वाचनमा गुटबन्दी भयो । पार्टीभित्र अन्तरविरोध सिर्जना भयो । कहिले पनि संगोल एमाले भएन । दुर्भाग्य थियो । एकताबद्ध भएर जाने, प्यानल नबनाउने हो सुदृढ एमाले बनाउन सक्छौं ।
२) हामीसँग विचार छ । तर कहिले पनि वैचारिक काम गर्न सकेनौं । नवौ अधिवेशनपछि प्रशिक्षण, विचारको अभाव भयो । कमिटी अराजकतातिर गयो । विचार शून्य भएपछि जन्माउने गुटबन्दी हो । एमाले गुटबन्दीको शिकार बन्यो । यसमा अत्यन्तै समीक्षा हुनुपर्छ । निर्मम समीक्षा गरेमात्रै सुदृढ एमाले बन्छ । नेतृत्वले आँट गर्नैपर्छ ।
३) जनमतको कदर गर्नै सकेनौं । यत्रो नेपाली जनताले हामीलाई जनमत दियो । सत्तामा पुर्या्यो । तर जोगाउन सकेनौं । जनताले मत दियो । अब फेरि चुनावमा जानुपर्छ भनेर सोचेनौं । जनमत पाएको हो जे हुन्छ जसरी चल्छ चल्छ भनेर गैरजिम्मवारीपूर्वक सोच्यौं । अब जनमतलाई के भन्ने ? आत्मालोचना गर्नैपर्छ । जनतामाझ भन्नैपर्छ । तब मात्रै सुदृढ एमाले हुन्छ । फेरि जनमत पाउँछ ।
४) हामी रुपान्तरित हुने कि नहुने ? नेता मात्रै होइन कार्यकर्तासम्म, कार्यकर्तामात्र होइन सिंगो संगठन, तलदेखि माथिसम्म विचार, व्यवहारमा रुपान्तरित हुने कि नहुने ? कि त्यहीँ सामन्ती सोंचबाट जाने हो ? त्यसरी जाँदा गाह्रो हुन्छ । सिंगो एमाले पंक्तिलाई पहिला रुपान्तरित गरौं । विचारको राजनीति गरौं । किनभने हामी गालीगलौचको राजनीतिक गर्छौं । फेरि त्यसलाई कसरी सच्याउने? रुपान्तरित गर्नैपर्छ । त्यसको लागि विधान अधिवेशन आइसकेको छ । महाधिवेशन कमिटी तोकिसकेको छ । मुलधारको कम्युनिस्ट एमाले नै हो । त्याग र बलिदानबाट आएको एमाले सुदृढ बन्नु, विधिसम्म बनाउनुपर्छ । नैतिक आचारणलाई सुद्ध बनाउँदै गयौं भनेर धेरै कुरा मिलेर जान्छ ।