काठमाडौं। नेपाल पर्यटन बोर्डले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का प्रतिनिधिसँग छलफल गरेको छ । कोभिड–१९ ले नराम्ररी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रलाई कसरी चलायमान बनाउने भन्नेबारे छलफल गरेको हो ।
बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मीसँग डब्लुएचओका नेपाल प्रतिनिध डा राजेश एस पाण्डवबीच आज पर्यटन बोर्डमा भएको भेटमा कोभिडबाट नेपालको पर्यटनमा परेको प्रभाव, खोप, पछिल्लो पर्यटनको अवस्था तथा डब्ल्युएचओको सहयोगका विषयमा छलफल भएको बोर्डले जनाएको छ ।
भेटमा डा राजेश एस.पाण्डवले पर्यटकका लागि नेपाल खुला हुनु सुखद भएको बताउँदै स्वास्थ्य मापदण्डलाई पालना गर्दै पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्ने बताए ।
उनले नेपालको स्वास्थ्य सुरक्षाका लागि विश्व स्वास्थ्य सङ्गठनले सहयोग निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गरे । “हामी नेपाललाई गर्नुपर्ने सहयोगका लागि तयार छौँ ।
कोभिडको जोखिम अझै कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्डलाई पालना गरेर मात्र पर्यटकीय गतिविधि सञ्चालन गर्न आवश्यक छ ।” पाण्डेयको भनाई उद्धृत गर्दै बोर्डले विज्ञप्तिमार्फत जनाएको छ ।