Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

कुशल नेतृत्वकर्ता शेरबहादुर देउवा : कांग्रेसमा छैन विकल्प, जसले तोड्ने होइन सबैलाई जुटाउँदैछन्

कुशल नेतृत्वकर्ता शेरबहादुर देउवा : कांग्रेसमा छैन विकल्प, जसले तोड्ने होइन सबैलाई जुटाउँदैछन्

विकाश कुमार ठाकुर आश्विन १८ २०७८
  • 5.0K
    SHARES
  • कुशल नेतृत्वकर्ता शेरबहादुर देउवा : कांग्रेसमा छैन विकल्प, जसले तोड्ने होइन सबैलाई जुटाउँदैछन्

    पहिलो उदाहरण

    केही दिन अघिमात्रै डा. नारायण खड्का परराष्ट्रमन्त्री नियुक्त भए । नियुक्त भएकै दिन राष्ट्रसंघीय महासभामा भाग लिन जाने तय भएको थियो । खड्काको यहीँ कार्यतालिकामा एमाले अध्यक्ष केपी शर्मा ओलीले खिसिट्युरी गरे, ‘तयारी केही छैन, नियुक्ति भएर सिधै महासभामा जाने? के बोल्ने? ब्यागमा कपडा हालेर हुन्छ ? प्लेनको ए क्लास सीटमा एकछिन घुरेर तयारी गर्ने? सरकारले आज थाहा पायो महासभामा छ भनेर?’ तर प्रधानमन्त्री शेरबहादुर देउवाको छनोट सही थियो, तयारी राम्रो थियो भन्ने कुरा राष्ट्रसंघीय महासभामा खड्काले गरेको सन्तुलित सम्बोधनले पुष्टि गर्‍यो । १० बुँदामा नेपालका तर्फबाट खड्काले राखेको सन्तुलित र ओजपूर्ण सम्बोधनले विश्व समुदायकै ध्यान आकर्षित गर्‍यो । पञ्चशीलको सिद्धान्त, सन्तुलित परराष्ट्र नीति, असंलग्न परराष्ट्र नीतिको झल्को पनि दियो । यतिमात्रै होइन खड्काले ७ दशकअघि कांग्रेस संस्थापक विपी कोइरालाको राष्ट्रसंघको सशक्त सम्बोधन पनि स्मरण गराए । खोपदेखि अफगानिस्तानसम्म, इजरायलदेखि प्यालेस्टाइनसम्म, जलवायु परिवर्तनदेखि तापमान घटाउनेसम्म जल्दाबल्दा मुद्दामा नेपालले विश्वकै ध्यानाकर्षण गराउन सफल रह्यो । राइट प्लेसमा राइट म्यान भन्ने अवधारणा यहाँ पुष्टि भएको परराष्ट्र मामिलाका जानकारले टिप्पणी गरेका छन् ।

    दोस्रो उदाहरण

    मन्त्रिमण्डल विस्तार हुन नसकेका बेला प्रधानमन्त्री देउवाले कोभिड १९ संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालय खाली राखेनन् । राज्यमन्त्री नियुक्त गरेरै भए पनि स्वास्थ्यका काम अघि बढाए । व्यापारिक पृष्ठभूमिका उमेश श्रेष्ठलाई नियुक्त गरे । चर्को विरोध भयो । गोविन्द केसी अनशन नै बसे । तर देउवाको छनोट उपयुक्त थियो, अब्बल थियो भन्ने अहिले परिणामले देखाएको छ । आम राजनीतिज्ञ मन्त्री भएभन्दा बढी काम श्रेष्ठले गरेर देखाएका छन् । खोपको व्यवस्थापनदेखि अत्यावश्यक स्वास्थ्य पूर्वाधार तथा औषधिजन्य आवश्यकतालाई कुशलतापूर्वक सम्बोधन गरेका छन् । आफू व्यापारी भए पनि श्रेष्ठले ‘राज्यबाट लिने भन्दा राज्यलाई दिने’ नीति लिँदै सरकारी अस्पतालाई बलियो बनाउने अवधारणा अघि सारेका छन् । वीर अस्पताललाई ह्याम्स हस्पिटलको स्तरमा पुर्‍याउने उनको योजना छ । उनको कामबाट सत्ता गठबन्धनका नेताहरु सन्तुष्ट छन् । कामको मामिलामा राम्रो छाप छोडेका श्रेष्ठलाई प्रधानमन्त्री देउवा फुल मन्त्रीमा बढुवा गर्न चाहन्छन् । देउवाले छनोट गरेका गृहमन्त्री बालकृष्ण खाँड र प्रवक्तासमेत रहेका कानुन न्याया तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि व्यवहारिक रुपमा राम्रो काम गरिरहेका छन् । अघिल्लो सरकारको पालामा ट्रयाक बाहिर गएको सुरक्षा प्रणाली, सिंगो प्रणालीलाई ट्रयाकमा ल्याउनेगरी काम गरिरहेका छन् । आम रुपमा उनीहरुको कामप्रति सन्तुष्टि देखिन्छ । त्यति धेरै विरोध छैन । मान्छे हो, यत्रो देश चलाउँदा केही कमीकमजोरी काम गर्दै जाँदा हुन्छन् । तर औसतमा देउवाको छनोट परिपक्व छ । सरकारमा देउवाले हाम्रा भन्दा राम्रालाई प्राथमिकता दिने नीति लिएका छन् । विषय विज्ञलाई मन्त्री बनाएका छन् । काम गर्न सक्नेलाई अवसर दिएका छन् ।  त्यसैले त थोरै समयमा पनि सानो क्याविनेटबाट कामबाटै परिणाम दिन सफल भएका छन् । यद्यपि मन्त्रिपरिषद् विस्तारमा भने देउवाले आफूले चाहेजसरी गर्न पाएका छैनन् । चाँडो गर्ने उनको प्रयास रहे पनि गठबन्धन दलका कारण प्रधानमन्त्री भएका नाताले दोष उनले बोक्नुपरेको छ । यद्यपि उनले सबैलाई व्यवस्था गर्नका लागि धैर्यता र कुशलता प्रदर्शन गरिरहेका छन् । थोरै मन्त्री भए पनि सेवा प्रवाहमा भ्याएसम्म आफ्नो टिम परिचालन गरेर लागिरहेका छन् ।

    Bikash Thakur.jpg

    देखियो परिणाम

    सानै टिममा पनि देउवाले अढाई महिनाको हाराहारीमा केही महत्वपूर्ण कामहरु परिणाम आउने गरी गरेर देखाएका छन् । कोरोना महामारी नियन्त्रणलाई उच्च प्राथमिकता, योग्य र अनुभवी व्यक्तिलाई सही जिम्मेवारी दिने नीति अनुरूप विद्युत प्राधिकरणमा कुलमान घिसिङ र योजना आयोगमा विश्व पौडेलको नियुक्तिले सुखद परिणाम दिएको छ । सरकारलाई सही बाटोमा लगेको छ । खोप केन्द्रको चुस्त व्यवस्थापन र एकैदिन तीन लाखलाई खोप दिन सफलता, १८ वर्षमुनिका बालबालिकालाई दिइने ४० लाख मात्रा मोर्डना खोपको टुंगो, बाढी पहिरो र डुबान पीडितको युद्धस्तरमा उद्धार तथा राहत र पुन:स्थापना, कोरोनाबाट प्रभावित अर्थतन्त्र पुनरुत्थानका लागि विशेष प्याकेजको घोषणा भए । त्यस्तै कर्मचारी, शिक्षक, सेना, प्रहरी स्वास्थ्य सेवाका कर्मचारीको तलब बृद्धि,  क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक ५ हजार भत्ताको घोषणा पनि गरियो । अति विपन्न गरिब घर परिवारलाई दश हजार रुपैयाँका दरले राहात, राजधानीका दश ठाउँमा सस्तोमा भोजनको व्यवस्था, विद्यार्थी लक्षित 'पढ्दै कमाउँदै र महिला लक्षित 'महिला पहिला' कार्यक्रम, भूमि आयोगको गठन, एमसीसीमा राष्ट्रिय सहमति निर्माणको पहल, प्रमुख प्रतिपक्षी दललाई विश्वासमा लिन अनौपचारिक छलफल र संवाद, त्रिचन्द्र कलेज र घण्टाघर पुनर्निर्माणको निर्णय भएर कार्यान्वयनमा जाने कामहरु छोटो समयमै भए । यी परिणामले नै भन्छ सरकारमा देउवाको नेतृत्व प्रमाणित भयो ।

    पार्टीमा पनि अब्बल नेतृत्व

    अहिले हरेक पार्टीभित्र गुट मौलाएको छ । टुटफुटको सिलसिला चलिरहेको छ । विवेकशील साझादेखि राप्रपासम्म, माओवादी केन्द्रदेखि एमालेसम्म फुटेका छन् । मधेसवादी दल पनि छिन्न भिन्न भएका छन् । देशमा फुटको सिलासिला चलिरहेका बेला कांग्रेस मात्र एक यस्तो पार्टी बन्यो जसले जोडिरह्यो । बाहिरबाट पनि ल्याएर जोड्यो । जसको नेतृत्व पार्टी सभापतिका रुपमा देउवाले नै गरे । हुन त उनीमाथि पार्टी संगठन चुस्त सञ्चालन गर्न नसकेको आरोप लाउनेहरु पनि छन् । तर तिनीहरु चुनाव हारेका र चरम गुटबन्दीमा रमाउनेहरु हुन् । आफै गुटबन्दी गरेर अफ्ठेरो पार्ने अनि चुस्त भएन भनेर आरोप लाउने प्रवृत्ति छ ।

    पार्टीलाई जोडिराख्न, सबैलाई व्यवस्थापन गर्न, फुटबाट जोगाउन कति अफ्ठेरो हुन्छ नेतृत्वमा बस्नेलाई मात्र थाहा हुन्छ । आफै चुनाव हारेर गफ चुट्ने जस्तो सजिलो हुँदैन । नेतृत्व गर्दा केही कमजोरी होलान । तर सबैलाई खुसी बनाउन भगवानले त सकेका छैनन् भने देउवा त एक मनुष्य हुन् । तै पनि आफ्नो खुबीले नेतृत्व चलाएका छन् । औसतमा पार्टी सम्वर्द्धन तथा सञ्चालन गरेका छन् । टुटफुट होइन आफूले त्याग गरेर पार्टीलाई सकेसम्म एकताबद्ध बनाएका छन् । पार्टी बलियो बनाउने काम गरेका छन् ।

    विजय गच्छदारलाई कांग्रेसमा फर्काएका छन् । मधेसको एक शक्ति मानिने गच्छदारको सिंगै पार्टी कांग्रेसमा ल्याएर संगठनात्मक रुपमा बलियो बनाएका छन् । गच्छदारलाई कांग्रेसमा फर्काउन देउवाले नै कन्भिन्स गराएका हुन् । विगतमा कोइरालाहरु नेतृत्वमा हुँदा गच्छदारले पार्टी छोडेका थिए । कोइरालाको पालामा बाहिरिएका नेतालाई भित्र्याउने कुशलता देउवाले देखाएका छन् । त्यसैगरी ठूलो विरासत बोकेको सूर्यबहादुर थापाका छोरा सुनिल थापालाई पनि देउवाले कांग्रेसमा भित्र्याएका छन् ।

    जोड्ने अभियानअन्तर्गत देउवाले राप्रपाको एक शक्ति मानिने थापालाई कांग्रेसमा समाहित गरेर जिम्मेवारी दिएका छन् । जुन काबिल नेतृत्वको परिचय हो । देउवा नेतृत्वमा अब्बल हुन् भन्ने कुरा वरिष्ठ नेता कृष्णप्रसाद सिटौलाले पनि मानेका छन् ।

    कांग्रेसको खम्बा मानिने सिटौलाले त्यहीँ भएर पछिल्लो समय देउवालाई निरन्तर साथ दिँदै आएका छन् । अहिले भइरहेका वडादेखिका अधिवेशनमा ठाउँ ठाउँमा सिटौला समूहको दरिलो साथ छ । सायद कांग्रेसलाई गुटबन्दीबाट मुक्त गर्ने, आन्तरिक रुपमा एकताबद्ध र बलियो बनाउनेमा सिटौला देउवासँग उभिएको हुनुपर्छ ।

    सभापतिका रुपमा देउवाले सकेसम्म सबैलाई मिलाउने र समस्या सम्बोधनको नीति लिएका छन् । पार्टी विद्रोहको अवस्था हुन नदिने, नेता कार्यकर्ताको कुरा सुन्ने र त्यसलाई आवश्यक कार्यान्वयन गर्ने खुबी देउवामा देखिन्छ । त्यसैले त फरक गुटमा भए पनि महामन्त्री शशांक कोइरालासमेत सभापति देउवाको साथमा छन् ।

    रामचन्द्र पौडेल समूहले विरोधका लागि विरोध गरे पनि राम्रा काममा शशांकले विरोध हैन बलियो साथ दिने गरेका छन् । यसले पनि देउवा लिडरसिप अबब्ल छ भन्ने पुष्टि गर्छ । विपी गणेशमान जस्ता प्रभावशाली नेतासँग संगत र सानिध्यमा उदाएका देउवामा उच्च प्रजातान्त्रिक संस्कार छ । उनले पार्टीभित्रको लोकतन्त्र र लोकतान्त्रिक संस्कारलाई पनि जीवितै राखेका छन् । जसको गगन थापाजस्ता युवा नेताहरुले पनि प्रशंसा गर्ने गरेका छन् ।

    कांग्रेसमात्र होइन एमाले र माओवादी नेताले समेत यो संस्कार उदाहरणीय भन्दै प्रशंसा गर्ने गरेका छन् । अन्य पार्टीका लागि समेत प्रेरणाको स्रोत बनेका देउवाको नेतृत्व कति महत्वपूर्ण छ भन्ने यहीँबाट प्रष्ट हुन्छ । त्यसैले कांग्रेसमा देउवाको विकल्प छैन भन्न सकिन्छ । यो देशमा विकास र समृद्धिका लागि कांग्रेसको नेतृत्व र कांग्रेसमा देउवाको नेतृत्व अहिलेको आवश्यकता हो ।

    आश्विन १८, २०७८ सोमवार ०९:२३:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा
  • # विकाश कुमार ठाकुर

  • विकाश कुमार ठाकुर

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana