Logo

बुधवार, मंसिर १५ गते २०७८

images

उकालोमा जीप ‘ब्याक’ भएर दुर्घटना अपडेट : आठको मृत्यु, एक जनाकाे सकुशल उद्वार

उकालोमा जीप ‘ब्याक’ भएर दुर्घटना अपडेट : आठको मृत्यु, एक जनाकाे सकुशल उद्वार

नेपालपाना आश्विन २५ २०७८
  • 2.5K
    SHARES
  • उकालोमा जीप ‘ब्याक’ भएर दुर्घटना अपडेट : आठको मृत्यु, एक जनाकाे सकुशल उद्वार

    कास्की। पोखराबाट अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप आज दिउँसो दुर्घटना हुँदा चालकसहित आठ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

     दुर्घटनामा एक जनालाई सकुशल उद्धार गरिएको र अवस्था सामान्य रहेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा जीप चालक कास्कीको अन्नपूर्ण गाउँपालिका–५ नयाँपुल बस्ने ४२ वर्षीय खुशीमान क्षेत्री हुनुहुन्छ ।

    यसैगरी अन्य मृतकमा जीपमा सवार काठमाडौँ महानगरपालिका–३ गोङ्गबु बस्ने १८ वर्षीय जिनलव घिसिङ, सोही ठाउँका २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुमन चौधरी, २२ वर्षीय अछुतम काफ्ले, १८ वर्षीय आशिष आले र गोरखा घर भई हाल काठमाडौँ गोङ्गबु बस्ने २७ वर्षीय विनय क्षेत्री रहेको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो ।

    घटनामा काठमाडौँ महानगरपालिका–३ गोङ्गबु बस्ने २० वर्षीया देविका घिसिङको बायाँ हात र नाकमा समान्य चोट लागेको र अस्पताल जानुपर्ने अवस्थामा नरहेको प्रहरीले जनाएको छ । 

    भीरमा अड्किएको अवस्थामा उहाँलाई प्रहरी र स्थानीयवासीले सकुशल उद्धार गरेकोे प्रहरी नायब उपरीक्षक विकले जानकारी दिनुभयो । प्रहरीका अनुसार दुर्घटनामा परेका काठमाडौँबाट घुम्नका लागि पोखरा आएको बताइन्छ । पोखराबाट घान्द्रुकतर्फ जाँदै गरेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप अन्दाजी १ः३० बजेको समयमा हुदुस्थित सडकबाट आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

    पोखरा घान्द्रुक कच्ची सडकखण्डको कलडाँडा भिरको घुम्ती सडकबाट अन्दाजी २०० मिटर तल सडकमा जीप खसेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । उहाँका अनुसार उकालो बाटोमा जीप ‘ब्याक’ भएर दुर्घटनामा परेको हो ।

    आश्विन २५, २०७८ सोमवार १८:३८:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # समाचार

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana