काठमाडौँ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तीन महिनामा रिपोमार्फत रु एक खर्ब ८५ अर्ब ५० करोड बराबरको तलरता प्रवाह गरेको छ ।
यस्तै स्थायी तरलता सुविधामार्फत रु आठ खर्ब २२ अर्ब ६८ करोड बराबरको तरलता दिए पनि बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव भइरहेको छ ।
बैंक तथा वित्तीय संस्थाले ऋण दिन नसक्ने अवस्थामा पुगेका छन् । केही बैंकले नयाँ ऋण खोज्नेलाई समय सार्दै आएका छन् भने केहीले पछि सम्पर्कमा आउन भनीरहेका छन् ।
गत कात्तिक मसान्तमा रु ४२ खर्ब ३३ अर्ब रहेको निक्षेप यही मङ्सिर ३ गतेसम्म आइपुग्दा रु ४२ खर्ब २६ अर्बमा झरेको थियो । यस्तै गत कात्तिक मसान्तसम्म रु ४० खर्ब ३४ अर्ब बराबरको ऋण लगानी भएकोमा मङ्सिर ३ गतेसम्म आइपुग्दा त्यो बढेर रु ४० खर्ब ४१ अर्ब बराबर पुगेको छ ।
यस आधारमा तीन दिनमा नै निक्षेप रु सात अर्बले घटेको देखिन्छ भने रु सात अर्बले नै कर्जा लगानी भएको थियो । गत साउन मसान्तमा वाणिज्य बैंकमा रु ४१ खर्ब २३ अर्ब निक्षेप थियो । त्यसबेला रु ३७ खर्ब ६४ अर्ब बराबरको कर्जा लगानी भएको थियो ।