काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नेतृत्वको दौडबाट बाहिरिएका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापति शेरबहादुर देउवाले भेटेर सहयोग मागेका छन् ।
शनिबार सभापतिको उम्मेदवारी दर्ता गरेपछि राति सवा ९ बजे बोहोराटारस्थित पौडेल निवास पुगेका देउवाले महाधिवेशनमा आफूलाई सहयोग गर्न नेता पौडेललाई आग्रह गरेका हुन् ।
‘सवा ९ बजेतिर उहाँ (देउवा) आउनु भएको थियो । ४५ मिनेटजति भेट भयो’, पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले भने, ‘राष्ट्रलाई तपाइँको अझै खाँचो छ । स्वास्थ्यको ख्याल गर्नुहोला र महाधिवेशनमा मलाई सहयोग गर्नुहोस् ।’
उनका अनुसार नेपाली कांग्रेसको विगत, वर्तमान र भविष्यको बारेमा छलफल गर्दै देउवाले परिवारिक कुराकानीसमेत गरेका थिए ।
जवाफमा पौडेलले सहयोग गर्ने प्रस्तावमा विचार गर्ने बताए । आफ्नै समूहका शेखर कोइराला र प्रकाशमान सिंहले नमिलेर आफू आफू उम्मेदवारी दिएकोमा यसलाई धोका भनेका पौडेल शनिबार १४औँ महाधिवेशनमा सभापतिको दौडबाट बाहिरिएको विज्ञप्ति जारी गरेर जानकारी दिए थिए । उनले राष्ट्रिय राजनीतिमा भने रहिरहने बताएका थिए ।
कांग्रेसको आफ्नो सिद्धान्त, आदर्शभन्दा विपरीत अस्वस्थ प्रतिष्पर्धा हुने देखेर महाधिवेशनमा सभापतिको दौडबाट आफू बाहिरिएको पौडेलको भनाइ थियो । प्रधानमन्त्री देउवाले घरमै गएर भेटेपछि अब पौडेलले उनलाई सहयोग गर्ने सम्भावना बढेको नेताहरु बताउँछन् ।