महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरको ८औं जिल्ला अधिवेशनअन्तर्गत उम्मेदवारी दर्ताका क्रममा अध्यक्षका आकांक्षी वीरबहादुर थापा ‘पातल’का समर्थकले आचारसंहिता उल्लंघन गरेपछि पार्टी कार्यालयमा लफडा भएको छ ।
उम्मेदवारी दर्ताका क्रममा पातलका समर्थकले ‘पातल जिन्दावाद’ भन्दै नारा लगाएका थिए ।
तर अर्का उम्मेदवार सुरेन्द्र विष्टका समर्थकले कुनै नाराबाजी नगरी उम्मेदवारी दर्ता भएको थियो ।
एमाले पार्टीको प्रणालीअनुसार निर्वाचनका क्रममा नाराबाजी गर्न, गुटबन्दी गर्न, प्यानल बनाउन पाइँदैन ।
एमाले पार्टीको मर्यादित अभ्यासविपरीत पातल पक्षले नाराबाजी गर्र्दै आचारसंहिता उल्लंघन गरेपछि कार्यकर्ता आक्रोशित बनेका थिए ।
आक्रोशित कार्यकर्ताले पातल पक्षमा नाराबाजी लगाउने कमल रोकायामाथि हातपात गर्दा झडप भएको थियो ।
‘पातल पक्षले एमाले पार्टीको मर्यादा बुझ्न सकेन, पार्टी कार्यालयमै नाराबाजी लगाएर आचारसंहिता उल्लंघन गर्दा झडपको स्थिति बन्यो,’ घटना हुँदा पार्टी कार्यालयमै रहेका एक नेताले भने ।