काठमाडौं । नितम्ब, तिघ्रा र खुट्टामा धेरै बोसो जमेका मानिसहरुमा स्ट्रोक, मधुमेह र हृदयाघातको आशंका कम हुने देखिन्छ ।
सेल रिसर्च जर्नलमा छापिएको एक अनुसन्धान प्रतिवेदनअनुसार जसको शरीरको तल्लो भागमा बोसो कम हुन्छ उसमा हृदय रोग र मृत्युको आशंका बढी हुन्छ।
तर मोटो मानिसको फोक्सो र मुटुको वरिपरि बोसो धेरै हुने भएकाले उनीहरूलाई हृदयाघात हुने सम्भावना धेरै हुन्छ। मधुमेह विशेषज्ञ नोर्बर्ट स्टिफनले भनेका छन्, ‘उचित तौल भएका यस्ता मानिस स्वस्थ हुन्छन्, जसको शरीरको आकार नास्पातीको जस्तो हुन्छ।’
अनुसन्धानअनुसार नितम्ब र तिघ्रा बोसो खपतका लागि सुरक्षित स्थान हो। पेटको बोसोको तुलनामा तिघ्रा र नितम्बको बोसो राम्रो मानिन्छ। पेटको बोसोले रगतमा फ्याटी एसिड धेरै छाड्ने गर्छ, जसका कारण मधुमेह, इन्सुलिन प्रतिरोधक र कोलेस्ट्रोलको जोखिम बढ्छ।