काठमाडौं । नेपाल-चीन सीमा ६ वर्षदेखि ठप्प छ । कहिले भूकम्प त कहिले केही, केही कोभिड महामारी देखाएर चीनले नाका खोल्न मानेको छैन । दैनिक ७/८ सय कन्टेनर भित्रिने नाका आजकल सुनसान छ । चीनले विभिन्न बहानाबाजी गरेर अघोषित रुपमा नाकाबन्दीकै स्वरुपमा नाकामा अवरोध गरेको छ । यो अवरोध कोभिड महामारी शान्त भइसकेपछि पनि जारी रह्यो । नेपालका प्रधानमन्त्री, राष्ट्रपति, विभिन्न मन्त्रीहरु र मन्त्रालयले पहल गर्दा पनि चीनले टेरेन ।
पछिल्लो समय नेपालका चारवटा मन्त्रालय कृषि, उद्योग, अर्थ र परराष्ट्र मन्त्रालयले निरन्तर नाका खोलिदिन पहल गरेका छन् ।
त्यतिमात्रै होइन वाणिज्य मन्त्रालयबाट सरुवा भएर ल्हासास्थित नेपाली महावाणिज्यदूत बनेर गएका सहसचिव नवराज ढकालले तिब्बतबाट पहल गरिरहेका छन् ।
तर चिनियाँ रवैयामा कुनै सुधार छैन । नाका खोल्न मानेकै छैन । जसका कारण नेपाली व्यापारी, किसान र उपभोक्ता मारमा परेका छन् ।
नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोक श्रेष्ठ चीनले नाका खोल्न खासै वास्ता नगरेको बताउँछन् । नेपाली पक्षबाट पर्याप्त कुटनीतिक पहल भए पनि चिनियाँ रवैया नबदलिएको उनको गुनासो छ । उनकाअनुसार अघिल्लो दसैँका लागि मगाएको सामान अझै नाकामा अड्किएङ्को छ । नेपाली व्यवसायीले मगाएका करिब ७/८ सय कन्टेर सामान अलपत्र छ ।
तातोपानी नाका भन्सार कार्यालयका प्रमुख नारद गौतम आश्वासन दिएर पनि चिनियाँ पक्षबाट अवरोध भएको बताउँछन् । चीनले दैनिक २० गाडी पठाउने आश्वासन दिए पनि त्यसअनुसार आउन नदिएको उनको भनाइ छ । उनकाअनुसार नेपालतिर भने समस्या छैन । चिनियाँहरु नै अत्तो थापेर बसेका छन् ।
रसुवा भन्सार कार्यालय प्रमुख रामप्रसाद मैनालीको अनुभव पनि त्यस्तै छ । कोभिड देखाएर चिनियाँ पक्षले सामान्य अवस्थामा पनि सामान छिर्न नदिएको उनको भनाइ छ । यसबारे मन्त्रालयमा जानकारी गराए पनि चिनियाँ रवैयामा सुधार आउन नसकेको र नाका सुनसान रहेको उनले बताए ।
नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष श्रेष्ठले व्यापारीहरु मारमा परेको बताए । नाकामा सामान रोकिदा कतिपय काम नलाग्ने भएको र कतिपयको ब्याज बढेर तिर्नै नसक्ने अवस्था हुँदा नेपाली व्यापारीहरु पुरपुरोमा हात राखेर रुनु परेको बताउँछन् । त्यस्तै मलखाद्यमा रोक लगाउदा नेपाली किसान रोइरहेका छन् ।