काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले बढी शुल्क लिने मेडिकल कलेजमाथि कारवाही सुरु गरेका छन् । शुक्रबार पीडित विद्यार्थी र विद्यार्थी संगठनका नेताहरुलाई मन्त्रालयमा बोलाएर मन्त्री खाडले जथाभावी शुल्क लिएर विद्यार्थी र अभिभावकलाई दु:ख दिने कलेजका सञ्चालकलाई कारवाही गर्न छानविन थालिएको जानकारी गराए ।
चिकित्सा शिक्षाका विद्यार्थीहरूले जथाभावी शूल्क लिएको भन्दै केएमसी र नोबेल मेडिकल कलेजविरुद्ध आन्दोलन गरिरहेका छन् । केएमसीका सञ्चालक सुनिल शर्मालाई त कालोमोसो नै दलेका छन् ।
यस्तो बेला गृहमन्त्री खाडले दोषीलाई कारवाही तथा विद्यार्थीलाई राहत दिने गरी पहलकदमी लिएका हुन् । ती मेडिकल कलेजमा देखिएका समस्याको छानविन गरेर दोषीमाथि कडा कारवाही गरिने र विद्यार्थीका समस्या तत्काल समाधान गर्न काम भइरहेको खाडले बताए । उनले विद्यार्थी संगठनका नेताहरूलाई कालोमोसो दल्ने जस्ता उत्तेजित गतिविधि नगर्न पनि आग्रह गरे । संविधान र कानुनअनुसार दोषीलाई कारवाही तथा विद्यार्थीलाई न्याय दिने उनको प्रतिबद्धता रह्यो ।
‘मेडिकल कलेजमा देखिएको जुन समस्या छन्, ती समस्या सम्बोधन गर्ने क्रममा प्रक्रियागत रुपमा सरकारले अनुसन्धान गर्छ । र दोषीलाई चाहिँ हाम्रो ऐन, कानुनमा जस्तो प्रबन्छ छ त्यही अनुसार कारबाही हुन्छ । यस विषयमा विद्यार्थीहरूलाई धेरै कठिन छ । र सरकारले निर्णय गर्दा आफ्नो प्रक्रिया थालनी गर्दा आग्रह, पूर्वाग्रहबाट प्रेरित भएर गर्नु हुँदैन भन्नेमा स्पष्ट छ । पूर्वाग्रह, आग्रहभन्दा माथि उठेर काम हुन्छ । विद्यार्थी संगठन पनि उत्तेजित हुने र आवेशमा आउने काम गर्नु भएन । आवश्यक पर्यो भने पुनः शिक्षा मन्त्रालयसँग छलफल गरेर समस्या समाधान गरिन्छ,’ उनले भने ।
गृहमन्त्री खाडले विद्यार्थीहरुसँगै शिक्षामन्त्री देवेन्द्र पौडेललाई पनि आफ्नो मन्त्रालयमा बोलाएर छलफल गरेका थिए । निजी मेडिकल कलेजहरूले दादागिरी देखाएको भन्दै उनीहरूमाथि तत्काल कारबाही गर्नुपर्ने पौडेलको सुझाव थियो ।