काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व सञ्चार मन्त्री गोकुल बाँस्कोटाले पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईविरुद्ध कडा आक्रोश पोखेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीका कट्टर आलोचक भट्टराईले ओलीलाई हिटलरसँग दाँज्ने गरेका छन् । डा भट्टराईले आज बिहान पनि एमाले एवं ओलीलाई हिटलरसँग तुलना गरेका थिए ।
त्यसपछि आक्रोश पोख्दै नेता बाँस्कोटाले डा भट्टराईलाई नै हिटलरको उपमा दिएका छन् । नेकपा माओवादीको नेतृत्वमा १० वर्षसम्म चलेको सशस्त्र विद्रोहका शीर्ष नेतामध्ये एक भट्टराईलाई बाँस्कोटाले विभिन्न काण्डमा मुछ्दै आक्रोश पोखेका छन् ।
‘हारजंगमा आठ जना नागरिकलाई घरभित्रै थुनेर जिउँदै जलाएर मार्ने, चितवनमा ४ वर्षीया बालिका काजोल खातुनलाई बसभित्रै जलाएर मार्ने हत्याराले बारम्बार एमालेलाई हिटलरसँग जोड्न खोज्नुको अर्थ के हो’, बाँस्कोटाले लेखेका छन्, ‘हिटलरको ग्यास च्याम्बर र भट्टराईको हारजंग च्याम्बरमा कुनै भिन्नता छैन।’
उनले अगाडि लेखेका छन्, ‘अझ थप्छु– सामाजिक फासीवादी भट्टराई र फासीवादी हिटलर दाजुभाइ हुन्। रेणु ९यातायातमन्त्री रेणु यादव० को राजीनामा रोक्न सार्वजनिक धम्की दिनु आवश्यक छैन। विदेशी एजेन्डा बोक्ने भट्टराई उफ्रेर एमालेको केही हल्लँदैन।’
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले गत बुधबार रौतहटमा आयोजित एक कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सीके राउत मारिन सक्ने र गौर नरसंहार दोहरिन सक्ने चेतावनी दिएकी थिइन् । अहिले उनको चौतर्फी आलोचना भइरहेको छ ।