काठमाडौं। सरकारले आगामी वैशाख ३० गतेका लागि तय गरेको स्थानीय तहको निर्वाचन रोक्न एक जनप्रतिनिधिले सर्वाेच्चमा हालेको रिटलाई अदालतले दरपीठ गरिदिएको छ ।
महोत्तरीको भंगहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले आगामी वैशाख ३० गते निर्वाचन गर्दा संविधानले तोके अनुसार आफूहरुको कार्यकाल पाँच वर्ष पूरा नहुने भन्दै रिट लिएर सर्वोच्च पुगेका थिए ।
तर, त्यो निवेदन दर्ता गर्नकै लागि योग्य नभएको निष्कर्षसहित रजिष्ट्रार नारायणप्रसाद पन्थीले दरपीठको आदेश दिएका हुन् ।
मेयर साहले आफू ७ असोज २०७४ मा निर्वाचित भएको र आफ्नो कार्यकाल ६ असोज २०७९ मा सकिने भन्दै वैशाख ३० मा निर्वाचन गर्दा आफूले पाँच वर्ष कार्यकाल पूरा गर्न नपाउने दावी गरेका थिए ।
सर्वोच्च अदालतमा पेश भएको निवेदन दर्ताका लागि योग्य छैन भने प्रशासनिक स्तरबाटै आधार र कारण खुलाएर दर्ता नहुने आदेश (दरपीठ) गरिन्छ ।रजिष्ट्रार पन्थीले जारी गरेको दरपीठ आदेशमा ऐनको प्रावधान यथावत रहेको अवस्थामा मेयर साहले अनुमानका आधारमा निवेदन दर्ता गर्न खोजेको उल्लेख छ ।
