काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसी रोक्ने उत्तरी छिमेकी चीनको मिसन आंशिक सफल भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र सभामुख अग्निप्रसाद सापकोटाको सहमतिमा प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबारको संसद बैठकमा एमसीसी टेबलको तयारी गरेका थिए ।
सडक र विद्युत ट्रान्समिसन लाइन निर्माणका लागि आएको सहायता परियोजना एमसीसीलाई समयसीमाभित्रै पारित गरेर अन्तर्राष्ट्रिय समुदायका अगाडि शिर ठाडो पार्न, कच्चा कुटनीतिबाट बच्न देउवाले प्रचण्ड र माधवका हरेक कुरा मानेका थिए ।
यहाँसम्मकी प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई पनि महाभियोग लगाउन तयार भए । प्रचण्ड माधवले शर्त माथि शर्त राख्दा पूरा गर्दै गए । तर उनीहरुले प्रधानमन्त्रीलाई प्रयोग मात्रै गरे । अनैतिक राजनीति र कच्चा कुटनीतिक खेलाची देखाए । यी सबैको पछाडि चिनियाँ खेल रहेको पाइएको छ ।
माओवादीका एक नेताकाअनुसार माओवादीमा नारायणकाजी श्रेष्ठले एमसीसीविरुद्धको अभियानलाई नेतृत्व गरिरहेका छन् । कृष्ण महरा, वर्षमान पुन, देव गुरुङहरु लागेका छन् ।
यी नेताहरु हरेक दिन चिनियाँ अधिकारीसँग सम्वादमा रहेको ती नेता बताउँछन् । श्रेष्ठ त एमसीसीविरुद्ध आज सडकमै उत्रेका थिए । त्यसैगरी माधव नेपालको नेकपा एसका नेताहरु पनि चीनप्रति वफादार देखिएका छन् ।
एसका सम्मानित नेता झलनाथ खनालसँग चिनियाँ राजदूत होउ यान्छी नियमित सम्पर्कमा छिन् । बेइजिङबाट चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका पदाधिकारीहरु पनि प्रचण्डसँग नियमित सम्पर्कमा रहेको पाइएको छ ।
जसको परिणाम बुधबार देखिएको कांग्रेसका नेताहरु बताउँछन् । प्रधानमन्त्री देउवानिकट एक नेताकाअनुसार माओवादी र नेकपा एसका नेताहरुको चिनियाँ हिमचिम अस्वभाविक छ ।
चिनियाँ अधिकारीहरुसँगको नियमित सम्पर्क र दबाबले प्रचण्ड र माधवले युटर्न लिएको बुझाइ प्रधानमन्त्री देउवाको रहेको उनी बताउँछन् ।
बुधबार संसद टेबल हुन रोकेपछि चिनियाँ राजदूत यान्छी र दूतावासका अधिकारीहरु थप सक्रिय भएका छन् । उनीहरुले एमसीसीविरुद्ध अभियानमा रहेका अगुवादेखि शीर्ष नेतृत्वसम्म पुगेर पूरा सहयोग हुने बेइजिङको सन्देश सुनाएका छन् ।
एमसीसीलाई टेबल हुन नदिन र भइहाले असफल बनाउन चीनले सडक र सदन दुबैतिर दबाब बढाउने रणनीति लिएको छ ।
जसका कारण प्रचण्ड र माधव सदन र सडकमा उतिकै सक्रिय छन् । न्युनतम राजनीतिक मर्यादासमेत गुमाएर सरकार र सडकमा बाह्य प्रभावमा तमासा देखाइरहेका छन् । सडकमा दबाब बढाउन, जनमतलाई बढीभन्दा बढी विरोधी बनाउन दूतावासका अधिकारी सक्रिय भएका छन् । यसका लागि आवश्यक आर्थिक खर्च दिएका छन् ।
बुधबारको आंशिक सफलतापछि दूतावासका अधिकारीले एमसीसीको विरोधमा रहेका मुख्य अगुवा र नेताको घर घरमा पैसाको पोको पुर्याएको सूचना प्राप्त भएको छ ।
एमसीसीको विरोधमा ज्ञानेन्द्र शाहीदेखि राप्रपा, अन्य साना कम्युनिस्ट पार्टीहरुलाई चीनले पछाडिबाट अघि बढ्न थप पुस गरेको जानकारहरु बताउँछन् ।