Logo

बुधवार, आषाढ २२ गते २०७९

images

नेपाललाई श्रीलंका जस्तै बनाउन चीनले महँगोमा ऋण भिडाउन खोज्दै, सम्झौता गर्न आउँदै मन्त्री वाङ तर नाकाबन्दी खोल्न मानेनन्

नेपाललाई श्रीलंका जस्तै बनाउन चीनले महँगोमा ऋण भिडाउन खोज्दै, सम्झौता गर्न आउँदै मन्त्री वाङ तर नाकाबन्दी खोल्न मानेनन्

नेपाल पाना चैत्र १० २०७८
  • 7.4K
    SHARES
  • नेपाललाई श्रीलंका जस्तै बनाउन चीनले महँगोमा ऋण भिडाउन खोज्दै, सम्झौता गर्न आउँदै मन्त्री वाङ तर नाकाबन्दी खोल्न मानेनन्

    काठमाडौं । नेपालसँगको भन्सार नाका खोल्न अटेर गरिरहेको चीनले नेपाललाई महँगोमा ऋण भिडाएर बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयन सम्झौता गर्न खोजेको छ ।

    भूकम्पपछि तातोपानी नाका बन्द गरेको चीनले अहिलेसम्म खोलेको छैन । रसुवाको नाका पनि खोल्न मानेको छैन । नेपाललाई समस्या पर्दा सहयोग गर्न कहिल्यै अगाडि नआउने चीनले नेपाललाई महँगोमा ऋण दिन भने जहिले पनि अग्रसर हुने गर्छ ।

    चीनले पोखराको अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि अत्यन्तै महँगोमा ऋण दिएको छ । पोखरा विमानस्थलको ऋणको किस्ता तिर्न ढिला भएपछि करीव ७० लाख रुपियाँ जरिवाना लगेको छ ।

    नेपाल उड्डयन प्राधिकरणलाई दवाव दिएर चीनले जरिवाना स्वरुप ७० लाख लगेको स्रोतको भनाइ छ । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी नेपाल भ्रमणका क्रममा शुक्रबार काठमाडौं आउँदैछन् । उनले नेपाललाई ऋणको भारी बोकाएर अर्थतन्त्र ध्वस्त पार्नेभन्दा पनि अमेरिका र भारतले जस्तै गरेर अनुदानमा सहयोग गर्नुपर्छ ।

    चीनले नेपालसँगको दुई वटा महत्वपूर्ण नाकाहरू खोलेर सामान आयात र निर्यातमा सहज गरिदिनुपर्छ । होइन भने अमेरिकाले दिएको एमसीसीको रकमको विरोध गर्नुको कुनै अर्थ हुनेछैन ।

    श्रीलंका र अफ्रिकन मुलुकहरूलाई महँगोमा ऋण दिएर अर्थतन्त्र टाँट पल्टाइदिएर कब्जा गरे जस्तो हर्कत चीनले नेपालमा गर्न पाउँदैन । त्यस्तो गतिविधि पनि गर्नु हुँदैन ।

    चीनले नेपालसँग करीव एक दर्जन विषयमा समझदारी गर्न गृहकार्य गरेको छ । झण्डै दुईतिहाईको तत्कालीन कम्युनिस्ट पार्टीका प्रधानमन्त्री खड्गप्रसाद ओलीले सन् २०१६ मा चीनको भ्रमण गरेदेखि हालसम्म दुई मुलुकबीच ५० भन्दा बढी विषयमा सहकार्य गर्ने सम्झौता गरिएकामा अधिकांश कार्यान्वयन भएका छैनन् ।

    परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ समकक्षी वाङबीच शनिबार औपचारिक रूपमा द्विपक्षीय वार्ता हुनेछ । त्यसपछि १० देखि १२ वटा विषयमा दुई मुलुकबीच सहमति गर्ने तयारी छ ।

    चीनले बीआरआई कार्यान्वयन सम्झौता अघि बढाउन परराष्ट्रमार्फत नेपाल सरकारलाई आग्रह गरेको छ । चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयलाई कार्यान्वयन सम्झौता नगरे बीआरआई अघि बढाउन गाह्रो हुने सन्देश दिइसकेको छ ।

    नेपालले सन् २०१७ मा बीआरआईमा हस्ताक्षर गरे पनि हालसम्म वस्तुगत प्रगति भएको छैन । नेपालले बीआरआईबाट ऋण होइन, अनुदान लिन चाहेको छ ।

    अनुदान दिन मिल्ने वा नमिल्ने भन्नेबारे चीनसँग छलफल भइरहेको एक सरकारी अधिकारीले बताए । नेपालले सुरुआतमा बीआरआईबाट फाइदा लिनका लागि ३५ वटा परियोजना अघि सारेको थियो ।

    चीनले त्यसलाई एक अंकमा घटाउन भनेपछि नेपालले नौवटा बनाएर पठाएको बताइएको थियो । आधिकारिक रूपमा भने नेपालले बीआरआईका लागि भनेर कुनै पनि परियोजनाबारे निर्णय गरेको छैन ।

    नेपाल–चीन सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन, रसुवागढी र तातोपानी, कोरला नाकाको औपचारिक सुरुवात गर्नेलगायत विषयलाई अघि बढाउन परराष्ट्रले गृहकार्य गरेको छ । विदेशमन्त्री वाङले नेपाल आउनुअघि पाकिस्तान र भारतको पनि भ्रमण गर्नेछन् ।

    चैत्र १०, २०७८ बिहिवार १०:०७:३४ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend