काठमाडौं– आमा, बा ले देख्नु भन्दा पहिल्यै प्रेम गर्न सुरु गरेका कारण प्रेम अन्धो हुन्छ रे ।
संस्कृतमा एऊटा श्लोक छ–‘नान्नोदकसमं दानं तिथिर्नैकादशी समा, न गायत्र्याः परो मन्त्रः न मातुः परदैवतम् ।’
यसको अर्थ हो– ‘अन्न र पानी समान दान, द्वादशी समान तिथि, गायत्री समान मन्त्र र आमाभन्दा ठूलो अर्को देवता छैन ।’
एउटा उदाहरण हाम्रै नजिकै गाउँका एक युवालाई घरबाट शहरका साथीसंग फर्कन लाग्दा आमाले गाडि चढ्ने ठाउँमा मकै भटमास भुटेर पुर्याउँदै गाडिको झ्यालबाट दिँदै भन्नु भएछ–‘बाबु बाटोमा भोक लाग्ला, यो लिएर जा ।’
दृष्टिकोण
छोराले आमालाई देखेपछि साथीसंग लाज मान्दै झ्यालबाटै आमातिरै ती मकै फाल्दै भनेछ –‘म किनेर खान सक्छु, पर्दैन ।’
तर पनि आमा खुशी थिइन् , किनकि छोरो भोकै हुँदैन किनेर खान सक्छ ।
तर, आमाको खुशी त्यो बेला आँसुमा परिवर्तन भयो, जतिबेला उसलाई सार्थीले सोधे उहाँ को हो ? भने ।
उसले भन्यो –‘हाम्रो घरमा काम गर्ने नोकर्नी हो ।’
हो, आमाले उसलाई पढाएको, बढाएको नोकर्नी बन्नको लागि हो ।
उलिाई हुर्काउजे, बढाउने, उसकै लागि जिन्दगी समर्पण गर्ने नोकर्नी ।
उसले २० रूपैयाँको चुरोट एक घण्टामा दुई पटक उडाईरहँदा, छोरालाई पढ्न शहरमा खर्च पठाऊन १५ रूपैयाँ जोगाऊन गाडी नचढी दुई घण्टा पैदल हिंड्छिन् त्यही आमा । तर, छोराको लागि नोकर्नी हुन् आमा ।
शायद फेसबुक अथवा सामाजिक सञ्जालमा उसले फोटो पोष्ट गर्थ्यो भने उसले चिन्छन् कि भनेर नि भन्न सक्थ्यो आमा हुन् भनेर ।
मृत्युका लागि अनेक विकल्प छन्, तर जन्मको लागि एऊटै विकल्प हुन्–आमा ।
आमा भगवान हुन् भन्दा होईन भन्नेहरू शायद कमै होलान् ।
यदि आमालाई भगवान मान्ने हो भने हामीले भगवानलाई पनि एक दिन दिन्छौं नि, विभिन्न पर्वको रूपमा होईन ?
चाहे त्यो कृष्णाष्टमीको नाममा होस् अथवा शिवरात्रिको रूपमा ।
हामी जन्मनुभन्दा अगाडिको क्षणलाई सम्झौं न, जब आमाको गर्भमा रहँदा आमाले कुनै पल साथ छोडेको भए के हुन्थ्यो होला ।
आमाले त्यो समय, कुनै पल साथ छोडिनन्, चाहे पार्टिमा जाँदा होस् अथवा काममा ।
संसारको सबैभन्दा धनी मान्छे पनि एउटै कुराको ऋणमा हुन्छ, त्यो हो मातृऋण ।
जन्मदेखि मृत्युसम्मको यात्रामा, हाँसो, खुशी, मिलन, सुख, आँसु, रोदन, बिछोड, बिरह, दुःख, कष्ट आदि भेटिने सबै समय परिस्थिति अनुरुपका साथी हुन् तर त्योसंगको मिलन गराऊने निर्विकल्प एकमात्र सारथी हुन् आमा ।
आमाको माया मात्र एउटा औषधि हो, जुन कहिल्यै डेट एक्पाएर हुँदैन ।
आफ्नो लागि बाँच्ने त धेरै हुन्छन्, तर सन्तानको लागि भएपनि बाँच्नु पर्छ भनेर सोच्ने एक मात्र ब्यक्ति हुन् आमा ।
मातातिर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन किन आमाको फोटो सामाजिक सञ्जालमा पोष्ट गर्ने भन्ने प्रश्न ऊठ्नु स्वभाविक हो ?
किनकि आमाको मुख हेर्ने दिन हो यो ।
आमाको मुख देखाऊने दिन त भनेको छैन नि ।
तर सधैंभरी माता-पिताप्रति सम्मान हुनुपर्छ, तर कम्तिमा एक दिन आफूसंगै आफ्नो समुदाय र साथिसंगीसंग पनि जोड्नु पर्छ ।
‘जननी जन्म भूमिश्च स्वर्गादपि गरीयसी’, एक प्रसिद्ध संस्कृत श्लोक वाल्मीकि रामायणका केही पाण्डुलिपिहरूमा दुई रूपहरूमा भेटिन्छन् ।
पहिलो रूप
मित्राणि धन धान्यानि प्रजानां सम्मतानिव ।
जननी जन्म भूमिश्च स्वर्गादपि गरीयसी ॥
अर्थात मित्र, धन्य, धान्य आदिको संसारमा उच्च सम्मान गरिन्छ, तर आमा र मातृभूमिको स्थान स्वर्गभन्दा पनि माथि छ।
दोस्रो रूप
यसमा रामले लक्ष्मणलाई भन्छन्- ‘अपि स्वर्णमयी लङ्का न मे लक्ष्मण रोचते । जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ॥’
अर्थात ‘लक्ष्मण, यो लंका सुनले बनेको भए पनि मलाई यसमा कुनै रुचि छैन । किनकि जननी र जन्मभूमि स्वर्गभन्दा पनि महान छन् ।’
किन स्वर्ग त कसैले देखेको छैन स्वर्ग भन्दा माथि किन जाने ? प्रश्न ऊठ्नु स्वभाविक हो ।
पौराणिक विश्वास अनुसार मानिसहरूको मृत्युपछि पाप नगर्नेहरूको वास हुन्छ भन्ने विश्वास गरिन्छ ।
विश्वास अनुसार स्वर्गमा नन्दन नामको अत्यन्त राम्रो बगैंचा छ र त्यहाँ आनन्दले रहन पाईन्छ ।
तर हामीले यदि आँखा बन्द गरेर एकछिन सोच्ने हो भने सायद आमाको काख नन्दन नामको स्वर्गको बगैँचा भन्दा कम हुन्न होला ।
अन्तर्राष्ट्रिय जगतमा पनि मदर्स डे मनाईन्छ, जस्तो अमेरिका क्याननडामा पनि मे महिनाको दोश्रो आइतबार मदर्स डे मनाईन्छ ।
किन आमाको मुख हेर्ने दिन सामाजिक सञ्जालमा फोटो पोष्ट गर्ने ?
– आमाप्रतिको सम्मान ।
– आफु उपस्थित भएको ठाउँमा आफूसंगै सहभागि गराउन ।
– आफ्नो शान आफ्नो आमा आफ्नो सर्कलसँग परिचित गराउन ।
– हामीले जसरी विश्वासमा भगवानको फोटो पोष्ट गर्छौं, त्यस्तै एक भगवान आमा भएको पुष्टि गर्न ।
– आफ्नो आत्मसन्तुष्टीका लागि ।
‘कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवति ॥’
दुर्गा शप्तसतिको यो श्लोक को अर्थले भन्छ ‘पुत्र कुपुत्र हुन सक्छ तर माता कुमाता बन्न सक्दैनन ।’
एऊटा लोककथाले आमाको ममताको उदाहरण प्रष्ट पार्छ :
कुनै एउटी आमा आफ्नो छोरालाई असाध्यै माया गर्थिन् ।
रहँदा–बस्दा छोरो ठूलो हुँदै गएछ र घरमा बुहारी पनि आइछ ।
बुहारीले उसलाई भिन्न बस्न बाध्य पारिछ ।
तैपनि छोरो बारम्बार आफ्नो आमालाई भेट्न गैरहन्थ्यो ।
बुहारीलाई आफ्नो लोग्ने आमालाई भेट्न गएको पटक्कै मन परेन छ ।
एक दिन उसकी स्वास्नीले उसलाई आमाको मुटु–कलेजो हातमा लिएर आउन जोड गरी ।
छोराले दुलहीको ढिपी टार्न सकेन ।
उसले त्यसै गर्यो ।
बाटो अँध्यारो थियो, जहाँबाट एउटा सानो वन छिचोलेर आउनुपर्थ्यो ।
वनको बाटो र रातको कालो अध्याँरो भएकाले ऊ ठेस लागेर लडेछ ।
ऊ लडेको चाल पाएर त्यो मृत आमाको मुटु कलेजोले भनेछ –‘बाबु तँलाई चोट त लागेन ?’ छोरो नाजवाफ भएछ र बुझेछ आमाको माया ।’
काम गर्दा बाबु अब सक्दैनस र खानेकुरामा भोकै छस् अझै खा भन्ने आमालाई लिएर एउटा ऊखान छ नि :
भन्नजस्तो सजिलो, गर्न जस्तो गाह्रो
अन्नजस्तो औषधि, व्यथाजस्तो साह्रो
बाउजस्तो साथी र आमाजस्तो भान्से
पाउन साह्रै गाह्रो ।
शायद आफू दु:खमा डुबेर पनि सन्तानलाई बचाऊने बाबु र आफू भोकै बसेर सन्तानलाई खुवाऊने आमालाई साक्षात भगवान् को स्वरूप मान्न सकिन्छ ।
अजय सुनारको लेखन एवं मेरो निर्देशन रहेको चलचित्र ‘फिक्का’ मा एऊटा संवाद छ–‘पहिले मसंग केही थिएन, तर मसंग आमा हुनुहुन्थ्यो । अहिले मसंग सबैथोक छ तर मसंग आमा हुनु हुन्न ।’
कलाकार दुर्गाराज पाण्डेले बोलेको यो संवादले पनि आमालाई भौतिक खुशीसंग तुलना गरेर माथि राखिएको छ ।
जूनले पनि हिम्मत गर्न सक्दैन आमाको सुन्दरतासँग प्रतिस्पर्धा गर्न ।
त्यसैले त आमाको मुख हेर्न दिन सधैं औंशीमा पर्छ ।
यदि आमा–बाबुको सम्पतिमा छोराछोरीको अधिकार भएजस्तै छोराछोरीको सम्पतिमा पनि आमाबाबुको अधिकार हुने कानून बने बृद्धाश्रमको कमी हुन्थ्यो कि ?
गुरुणामेव सर्वेषां माता गुरुतरा स्मृता ॥
सबै गुरुमा माता सर्वश्रेष्ठ गुरु हुन् ।
सबै आमाप्रति सम्मान गरौं : ह्याप्पी मदर्स डे ।
(लेखक जनक खड्का चलचित्र निर्देशकका साथै ज्योतिष पनि हुन् । उनी हाल छिटै सञ्चालनमा आऊन लागेको नेपाल नेटवर्क टेलिभिजनमा कार्यरत छन् ।)