काठमाडौँ । नेपालका लागि भारतीय राजदूत रहेका विनयमोहन क्वात्राले भारतीय विदेश मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालेका छन् ।
क्वात्राले आइतबार बिहान विदेश सचिवको पदभार ग्रहण गरेको मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले ट्वीटरमार्फत जानकारी दिएका छन् । बाग्चीले नवनियुक्त विदेश सचिव क्वात्रालाई कार्यकाल सफलताको शुभकामना पनि दिएका छन् ।
विदेशसचिव हर्षवर्द्धन श्रृंगला अनिवार्य अवकाशमा जाने भएपछि नरेन्द्र मोदी सरकारले नेपालमा राजदूत रहेका क्वात्रालाई चैत तेस्रो साता परराष्ट्र सचिव नियुक्त गरेको थियो।
दुई वर्षअघि नेपालका लागि राजदूत नियुक्त भएका क्वात्रा विदेश सचिव नियुक्त भएसँगै केही दिनअघि नेपालबाट विदाई भएका थिए । नेपालसँगै फ्रान्सको राजदूत भइसकेका क्वात्राले भारतको कुटनीतिक सेवामा ३२ वर्ष बिताएका छन् ।
प्रधानमन्त्री कार्यालयमा सहसचिव भएर काम गरेका क्वात्रा भारतीय परराष्ट्र मन्त्रालयको सचिव बनेसँगै नेपालसँग सम्बन्ध थप उचाईंमा पुग्ने विश्वास लिइएको छ ।
क्वात्रा नेपालबारे जानकार भएकाले सम्बन्धमा आउने उतार चढावलाई उनले सहजै ह्याण्डिल गर्ने र नेपाल उनको उच्च प्राथमिकतामा पर्ने विश्वास लिइएको छ ।