काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न स्थानीय तह निर्वाचनमा एमालेलाई जिताए स्थानीय तह नै भंग हुन सक्ने चेतावनी दिएका छन् ।
सोमबार धनगढीमा आयोजित पाँँच दलीय गठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्दै उनले दुईपटक प्रतिनिधिसभा विघटन गरेको एमालेले स्थानीय तहमा जिते स्थानीय तह नै विघटन गर्न सक्ने बताए ।
‘संसद विघटन गर्ने एमालेले जिते, उसले स्थानीय तह नै विघटन गर्न सक्छ,’ देउवाले भने, ‘संसद विघटन गर्ने, चल्न नदिने एमालेलाई जिताउनु भनेको स्थानीय तह, प्रदेश र संसद नै विघटन गर्न सक्छ ।’
३० वैशाखमा देशभर हुन गइरहेको स्थानीय तह निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच स्थानीय तहमा गठबन्धन भएको छ ।