काठमाडौं। शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी मंगलबार रातिदेखि बन्द भएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार मंगलबार राति १२ बजेदेखि मतदान कार्यसम्पन्न नभएसम्मका लागि रसुवागढी नाका बन्द भएको हो ।
स्थानीय तहको निर्वाचनको व्यवस्थापकीय कार्यलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मतदानको ४८ घण्टा अगाडि नाका बन्द गरिएको उनले बताए । शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर राख्दै मंगलबार रातिदेखि शुक्रबार रातिसम्म नाका बन्द हुने जानकारी चिनिया पक्षलाई गराइसकेको उनले बताए । मंगलबार चिनिया पक्षले चिनिया १४ कन्टेनर सामान नेपाली भूमिमै ल्याइदिएका थिए । नाका शनिबारबाट पुनः सञ्चालनमा आउने भएको छ । नाका बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै सञ्चालन हुने गरेको छ ।
कोरोना महामारी सुरुभएसँगै चीनले रसुवागढी नाका एकतर्फी सञ्चालन गरेको छ । चीनले आफ्नै गाडीमा नेपाल तर्फको भूभागमा सामान ल्याइदिने गरेको छ । रसुवागढी नाकाबाट अहिले दैनिक ९ चिनिया गाडीमै नेपाल सामान आयात हुने गरेको छ ।