काठमाडौं । नेपाल र भारतको विदेश मन्त्रालयले एकसाथ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण तालिका सार्वजनिक गरेको छ ।
भारतको विदेश मन्त्रालय र नेपालको परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्तिमार्फत मोदीको एक दिने लुम्बिनी भ्रमणको तालिका सार्वजनिक गरेको हो ।
तलिकाअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा मोदी जेठ २ गते बुद्ध जयन्तीका अवसरमा नेपालको औपचारिक भ्रमणमा आउँदैछन् ।
लुम्बिनीमा मोदीले नेपालका प्रधानमन्त्री देउवासँग मायादेवी मन्दिरमा प्रार्थनामा भाग लिने, लुम्बिनीको विहार क्षेत्रमा बौद्ध संस्कृति र सम्पदा केन्द्रको निर्माणको लागि शिलान्यास गर्ने र पाँच हजार क्षमताको अन्तर्राष्ट्रिय सभाहलमा हुने बुद्धजयन्ती विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
भ्रमणका क्रममा मोदीसँग परराष्ट्रमन्त्री डा. नारायण खड़काले शिष्टाचार भेट गर्नेछन् ।
भ्रमणका क्रममा लुम्बिनीमै दुबै प्रधानमन्त्रीबीच नेपाल-भारत सहयोग र आपसी हितका विषयमा द्विपक्षीय वार्ता र विचार आदानप्रदान हुने मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले भारतीय समकक्षीसहित भ्रमण प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् ।
भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले दुई देशबीच द्विपक्षीय सम्बन्ध र सदियौ पुरानो सामाजिक-सांस्कृतिक बन्धनहरुलाई अझै मजबुत बनाउन योगदान गर्ने विश्वास परराष्ट्र मन्त्रालयले लिएको छ ।
भारतका प्रधानमन्त्रीको रुपमा मोदीको यो पाँचौं नेपाल भ्रमण हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरबिन्द बागचीले जारी गरेको विज्ञप्तिमा लुम्बिनी विकास कोषले आयोजना गरेको बुद्धजयन्ती कार्यक्रमलाई प्रधानमन्त्री मोदीले सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिइएको छ ।
प्रधानमन्त्री मोदीको भ्रमणले भारतको ‘छिमेकी पहिलो’ नीतिलाई अगाडि बढाउने तथा भारत र नेपालबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिएको विज्ञप्तिमा भनिएकफो छ । यसले दुवै देशका जनताको साझा सभ्यताको विरासतलाई जोड दिने भारतीय विदेश मन्त्रालयले विश्वास व्यक्त गरेको छ ।