काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न लुम्बिनी भ्रमणअघि भारतबाट नेपाल छिर्ने मुख्य नाकामा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
लुम्बिनीसँग सीमा जोडिएको उत्तरप्रदेशका प्रहरी अधिकारीले भारत—नेपाल सीमामा विशेषगरी रातीमा हुनसक्ने घुसपैठ रोक्न प्रहरी गस्ती र आवश्यक निगरानी बढाइएको बताएका हुन्।
उत्तरप्रदेश प्रहरी र शशस्त्र सीमा बलले सुरक्षा सतर्कता बढाएका छन्। प्रधानमन्त्री मोदी जेठ २ गते लुम्बिनीमा हुने बौद्ध जयन्ती विशेष समारोहमा सहभागी हुन आउँदैछन्। प्रधानमन्त्री शेर बहादुर देउवाको निमन्त्रणामा मोदी लुम्बिनीको एक दिने औपचारिक भ्रमणमा आउन लागेका हुन्।
मोदी सोमबार बिहान नयाँदिल्लीबाट कुशीनगर अन्र्तराष्ट्रिय विमानस्थलसम्म जहाजमा र त्यहाँबाट लुम्बिनीसम्म हेलिकोप्टरमा अवतरण गर्नेछन्। बिहान ११ बजेतिर मोदी सहितको भारतीय उच्चस्तरीय प्रतिनिधिमण्डल लुम्बिनी उत्रने तय भएको छ। मोदीको लुम्बिनी भ्रमणको औपचारिक घोषणा गत बिहीबार भएको थियो।