काठमाडौं । भारतले नेपालका लागि नयाँ राजदूतमा नवीन श्रीवास्तवलाई नियुक्त गरेको छ ।
चिनियाँ मामिला जानकार श्रीवास्तवलाई मंगलबार भारतीय विदेश मन्त्रालयले नेपाल पठाउने निर्णय गरेको हो ।
विदेश मन्त्रालयमा चीनसहित पूर्वी एसिया हेरिरहेका श्रीवास्तवले अर्को साताबाट कार्यभार सम्हाल्ने बताइएको छ ।
निवर्तमान राजदूत विनयमोहन क्वात्रा भारतीय विदेश मन्त्रालयको सचिव नियुक्त भएपछि उनको ठाउँमा श्रीवास्तव आउन लागेका हुन् ।
विदेश मन्त्रालयका एडिसनल सेक्रेटरी श्रीवास्तवले भारत चीन तनाव साम्य पार्न महत्वपूर्ण भूमिका खेलेका छन् । गलवान घाटी, दोक्लममा भएका विवादमा श्रीवास्तवले वार्ता गराउन भूमिका खेलेका थिए । चीनलाई पछि हट्न बाध्य पार्ने वार्ताहरुमा उनले भारतको नेतृत्व गरेका थिए ।
उनको नेपाल आगमनसँगै नेपालमा बढ्दो चिनियाँ प्रभावलाई नियन्त्रण गर्न भूमिका खेल्ने बताइएको छ । कम्युनिस्ट भावनाले नेपालमा बढ्दो चिनियाँ प्रभाव रोक्न श्रीवास्तव कुटनीतिक एक्सनमा उत्रिने छन् ।