काठमाडौं। स्थानीय तह निर्वाचनमा केही उम्मेदवारले मात्रै १ मतले चुनाव जितेका छन् ।
एक मतले चुनाव जित्नेमा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका उपाध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका कृष्णकुमारी कडरिया रहेका छन् ।
यस्तै काभ्रेमा ३ स्थानीय तहका ३ वडामा एक–एक मतान्तरले वडाध्यक्षमा विजयी भएका छन् । तेमाल गाउँपालिका वडा नम्बर १ मा एमालेका इन्द्र अधिकारी, काभ्रेको खानीखोला गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रका सन्तमान थिङ, काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नम्बर १ मा काँग्रेसका सुशिल लामाले एक मतले जित हात पारेका छन् ।
यस्तै, अर्घाखाँचीको मालारानी गाउँपालिका–६ हंसपुरको वडाध्यक्षमा एमालेका नारायणप्रसाद अर्याल, पर्साको बिन्दबासिनी गाउँपालिका वडा नम्बर ३ को अध्यक्षमा काँग्रेसका जयप्रकाश चौरसिया, गुल्मीको कालिगण्डकी गाउँपालिका २ मा काँग्रेसका उम्मेदवार रेशमराज न्यौपाने, महोत्तरीको महोत्तरी गाउँपालिका–१ मा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका रञ्जितकुमार चौधरी पनि एक मतले विजयी भएका छन् ।
यस्तै महोत्तरीको बर्दिवास नगरपालिका–१४ मा स्वतन्त्र उम्मेदवार विजयकुमार महतो, महोत्तरीको बर्दिवास–७ मा पनि स्वतन्त्र उम्मेदवार रामस्वगारथ यादव १ मतले विजयी भएका हुन् ।