काठमाडौं । सौन्दर्य प्रतियोगितामा सहभागी किशोरी बलात्कारको अभियोगमा प्रहरीले मुख्य अभियुक्त मनोज पाण्डेलाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बलात्कारको अभियोग लागेका प्रतियोगिता आयोजक संस्थाका सञ्चालक पाण्डेलाई स्वयम्भुबाट पक्राउ गरेको हो ।
८ वर्षअघि सौन्दर्य प्रतियोगितामा सहभागी हुँदा आफूलाई बेहोस बनाएर बलात्कार गरेको र त्यसपछि ब्ल्याकमेल गरेर निरन्तर ६ महिना यौन शोषण गरेको भन्दै पीडित युवतीले भिडियोमार्फत हालै घटना विवरण सार्वजनिक गरेकी थिइन् ।
घटना सार्वजनिक भएलगत्तै गृहमन्त्री बालकृष्ण खाणले चासो लिँदै छानविन समिति बनाउन प्रहरीलाई निर्देशन दिएका थिए । गृहमन्त्रीको निर्देशनमा प्रहरी प्रधान कार्यालयले अपराध महाशाखा प्रमुख एसएसपी बसन्त कुँवरको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको थियो । समिति गठन भएको २४ घण्टा नबित्दै मुख्य अभियुक्त पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
यो घटनामा दोषीलाई कारवाही माग गर्दै र बलात्कार कानुनमा हदम्याद संशोधन माग गर्दै सडकदेखि सदनसम्म आवाज उठिरहेको छ । युवाहरु प्रधानमन्त्री निवास बालुवाटारदेखि माइतीघर, नयाँबानेश्वर, पोखरा, चितवनलगायत देशभर दबाबमूलक प्रदर्शनमा उत्रिएका छन् ।