काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत कर्णालीका १० जिल्लाका ७९ वटै पालिकाको मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगका अनुसार कर्णालीमा नेपाली कांग्रेसले ३२, नेकपा (माओवादी केन्द्र) ले २३, नेकपा (एमाले) ले १५ र नेकपा (एकीकृत समाजवादी) ले चार तथा स्वतन्त्र उम्मेदवारले पाँच पालिकाको नेतृत्व पाएका छन् ।
विसं २०७४ को निर्वाचनमा २६ पालिकाको नेतृत्व लिएर पहिलो दल बनेको एमाले यसपटक तेस्रो स्थानमा खुम्चिएको छ भने तेस्रो दल कांगे्रस ३२ पालिकाको नेतृत्व गर्दै पहिलो शक्तिका रुपमा स्थापित भएको छ ।
कांग्रेसले रूकुम पश्चिमका दुई, सुर्खेतका चार, जाजरकोटका तीन, हुम्लाका तीन, कालीकोटका दुई, जुम्लाका पाँच, मुगुका दुई, डोल्पाका एक, सल्यानका पाँच र दैलेखका पाँच पालिकाको नेतृत्व जित्न सफल भयो ।
एमाले विभाजनपछि स्थानीय तहमा पहिलो शक्ति बनेको माओवादी केन्द्र यसपटकको निर्वाचनमा दोस्रोमै सीमित बन्न पुग्यो । विसं २०७४ मा २५ पालिकाको नेतृत्व लिएको माओवादी केन्द्र यसपटक २३ पालिकामा झरेको हो ।