काठमाडौं। आगामी आर्थिक वर्षको बजेटको अन्तिम तयारीमा रहेको सरकारले छपाइको काम सुरु गरेको छ । आर्थिक विधेयकबाहेक अरु कामलाई अर्थ मन्त्रालयले लगभग टुङ्गो लगाएपछि छपाइ सुरु भएको हो ।
चैत १ देखि ‘रुटिन’ नै तयार गरेर अर्थ मन्त्रालयले बजेट निर्माण सुरु गरेको थियो। यसअनुसार आज जेठ ८ मा व्यय अनुमान र खर्च शीर्षकगत अनुमानको अंक रुजुसहित (रातो किताब) अन्तिम मस्यौदा तयार भएको छ। यसलाई आजैदेखि छाप्न थालिने मन्त्रालयले जनाएको छ।
जेठ १२ गते आर्थिक विधेयक र विनियोजन विधेयकलाई अन्तिम रुप दिने तयारी छ। सोही दिन बजेट भाषण पनि अन्तिम टुंगो लगाउने आफ्नो रुपरेखामा अर्थ मन्त्रालयले समावेश गरेको छ।
जेठ १३ मा स्रोतपुस्तिका छपाइका लागि प्रेसमा पठाउने र जेठ १४ गते संसदको दुवै सदनमा आर्थिक सर्वेक्षण र संस्थानको प्रगति विवरण प्रस्तुत गरिनेछ। जेठ १५ गते संसदको दुवै सदनमा बजेट प्रस्तुत गरिनेछ।
यही जेठ ३ गतेदेखि बजेट अधिवेशन सुरु भएको थियो। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम १० गते सार्वजनिक हुँदै छ।