‘राजधानी इस्लामाबाद क्षेत्रको कानून र व्यवस्थाको अवस्थालाई ध्यानमा राख्दै सरकारले इस्लामिक गणतन्त्र पाकिस्तानको संविधानको धारा २४५ अन्तर्गत दिइएको शक्तिको प्रयोगमा पर्याप्त संख्यामा सेना परिचालन गर्ने अधिकार दिइएको छ ’, पाकिस्तानको गृहमन्त्री राना सनाउल्लाहले ट्वीटरमा पोस्ट गरेको सरकारी आदेशमा उल्लेख छ ।
देशमा बढ्दो तनावबीचमा इमरान खानले नेतृत्व गरेको जुलुस राजधानी प्रवेश गरेपछि पाकिस्तान सरकारले ‘महत्वपूर्ण सरकारी भवनहरूको सुरक्षा’ गर्न रेड जोनमा सेना तैनाथ गरेको हो । पाकिस्तानको सर्वोच्च अदालत, संसद भवन, राष्ट्रपति भवन, प्रधानमन्त्रीको कार्यालयलगायत महत्वपूर्ण सरकारी भवनको सुरक्षाका लागि उक्त निर्णय गरिएको सरकारी आदेशमा उल्लेख छ ।
यसअघि पूर्वप्रधानमन्त्री खान र उनका समर्थकहरूको ठूलो विरोध प्रदर्शनलाई लक्षित गरी सरकारले बुधबार पाकिस्तानको राजधानी इस्लामावादतर्फ जाने सबै सडकमा अवरोध तेर्साएको थियो ।