काठमाडौं । सरकारले कैलालीमा रहेको गेटा मेडिकल कलेज सञ्चालन प्रक्रिया अगाडि बढाएको छ ।
प्रधानमन्त्री पत्नी एवं कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाको पहलमा चाँडै संचालनमा ल्याउनेगरी सरकारले बजेटसमेत छुट्याएको छ ।
जेठ १५ गते संसदमा प्रस्तुत हुने बजेटमा गेटा मेडिकल कलेजलाई समेटिएको आरजुले जानकारी दिएकी छन् । गेटालाई बजेट नदिएको भनेर कैलालीमा भइरहेको विरोधमा जवाफ दिँदै आरजुले बजेट छुट्याइसकेको र छिट्टै कार्यान्वयनमा जाने भएकाले भ्रम नफैलाउन आग्रह गरेकी छन् ।
‘गेटामा रहेको क्याम्पससम्बन्धी विभिन्न टिकाटिप्पणी भइरहेको र आन्दोलन समेत भइरहेको सुन्दा मलाई अचम्म लागिरहेको छ। मैले चुनावको दौरानमा पनि अवगत गराएको थिएँ,’ उनले भनेकी छिन्, ‘त्यहाँका डाक्टरसाबहरुलाई पनि अवगत नै छ । आजभन्दा अगाडि चैत ४ गते नै त्यहाँ ३ सय शय्याको अस्पताल खोल्ने निर्णय बाहिर आइसकेको छ । यो बाबजुद पनि एकैचोटी मेडिकल कलेज किन नखोल्ने भन्ने बाहिर ल्याइएको छ ।’
कानुन अनुसार ३ वर्ष मेडिकल कलेज सञ्चालन भएपछि मात्र क्याम्पस बनाउन मिल्ने उल्लेख गर्दै आरजुले सरकारले कानुन अनुसार नै प्रक्रिया अघि बढाएको बताइन् ।
‘यस्तो भन्ने साथीहरुले बुझ्नुपर्ने के छ भने नेपाल सरकारको कानुन अनुसार ३ वर्ष मेडिकल कलेज चलाइसकेपछि मात्रै कुनैपनि ठाउँमा क्याम्पस बनाउन सकिन्छ । त्यो नियमअनुसार गेटामा अस्पताल चाँडै सञ्चालन हुन गइरहेको छ’ उनले भनिन्, ‘निर्वाचनको कारणले अलिकति ढिलाई भएको हो । एक दुई हप्तामा नै समितिहरु बन्छ, संचालनका लागि बजेट पनि यही बजेटबाट नै आउँछ । भ्रम सिर्जना नगर्न म अनुरोध गर्न चाहन्छु ।’