काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीबारे चर्को बोल्ने पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई नै प्रश्न तेर्स्याएका छन् । शक्तिशाली दुइतिहाइ सरकारको लामो परराष्ट्र मन्त्री भएका ज्ञवालीले एसपीपीबारे वर्तमान सरकारलाई घेर्नेगरी बोलिरहेका बेला वर्तमान परराष्ट्रमन्त्री खड्काले आफ्नो पालामा किन रद्ध नगरेको प्रश्न उठाएका हुन् ।
एसपीपीमा वर्तमान सरकारले कुनै सम्झौता नगर्ने र भविष्यमा पनि कुनै सैन्य रणनीतिमा सहभागी नहुने प्रष्ट पार्दै मन्त्री खड्काले आफू पदमा हुँदा केही गर्न नसक्ने र सत्ताबाट बाहिरिएपछि हुँदै नभएको कुरा उचाल्ने काम नगर्न ज्ञवालीलाई चेतावनी दिए ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा शुक्रबार भएको छलफलमा मन्त्री खड्काले भने, ‘यो पार्टनरसिप प्रोग्राम आईपीएस अगाडि आएकाले सहकार्य गर्दा राम्रो हुन्छ होला भनेर आएको हो । आईपीएसभित्र पारिसकेपछि पनि पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले किन होल्डमा राखेको? त्यही बेला रिजेक्ट गरेको भए सकिहाल्थ्यो ।’