सर्लाही । जिल्ला समन्वय समिति सर्लाहीका नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
सदरमुकाम मलंगवास्थित जिल्ला समन्वय समितिको हलमा आयोजित कार्यक्रममा नवनिर्वाचित जिसस प्रमुख कौशलकिशोर सिंह तथा उपप्रमुख जितेन्द्र कुशवाहासहितका पदाधिकारीहरुले सपथ लिएका हुन् ।
जिल्ला मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार पियाले जिसस प्रमुख सिंहलाई सपथ गराएका थिए भने उपप्रमुख कुशवाहासहित अन्य पदाधिकारीहरुलाई प्रमुख सिंहले सपथ ग्रहण गराएका हुन् ।
सपथपछि नवनिर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन् । कार्यभार सम्हाल्दै जिसस प्रमुख सिंहले जिल्लाको समग्र विकास निर्माणसंगै सुशासन कायम गराउनु आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।
यसैबीच जिससको पहिलो बैठकले जिल्लाका २० वटै स्थानीय तहमा आफ्नै बारुणयन्त्रको ब्यवस्था गर्न पहल गर्ने निर्णय गरेको छ । यसका लागि बजेट व्यवस्थापनमा आफूहरुले समन्वय गर्ने जिसस प्रमुख सिंहले प्रतिबद्धता जनाए ।
जिसस प्रमुख सिंहले देशकै उत्कृष्ट र प्रभावकारी समन्वय गरेर अघि बढ्ने पनि बताए ।