काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले दलहरुको तमासाले स्वतन्त्र उम्मेदवारले ठाउँ पाएको निषकर्ष निकालेकी छन् ।
कांग्रेस जिल्ला कार्यसमिति पर्वतले आयोजना गरेको जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै नेतृ देउवाले दलहरुकै आन्तरिक द्वन्द्वले स्वतन्त्रले ठाउँ पाएको बताएकी हुन् ।
उनले कांग्रेसभित्र जारी गुटबन्दीमा पनि आक्रोश पोखेकी छन् । कांग्रेसभित्रको आन्तरिक गुटबन्दी, अन्तर्घात र झगडाले स्वतन्त्रहरुलाई राजनीतिमा आउने अवस्था सिर्जना भएको उनको ठहर छ । पार्टीभित्र बहस, विवाद र इगो हुने भन्दै तर त्यसकै आधारमा पार्टी छोडेर, झगडा गरेर, तमासा देखाएर जग हँसाउने काम गर्दा स्वतन्त्रको उदय हुन पुगेकाले यो कुरालाई मनन गर्न सचेत गराइन् ।
आरजुको भनाइ जस्ताको तस्तै :
विचार मिलेर एउटा पार्टीमा छौं। घनिष्ठता नहुन सक्ला। अर्को पार्टीको मान्छेसँग घनिष्ठता होला। तर विचारको सवालमा हामी एकै हो । मेरो एमाले माओवादीमा धेरै साथी छन्, दोस्ती हुन्छ। तर उनीहरुसँग रिसाउन मिल्दैन। तर विचार मिल्ने साथीसँग दोस्ती नहोला। तर वादविवाद हुनसक्छ। विचार मिल्यो तब हामी एउटै पार्टीमा छौं। हाम्रो पार्टी र नेताहरुले राष्ट्रिय राजनीतिमा गरेको योगदान कस्तो थियो त? हामी सुन्छौं ठूल्ठूलो नेताबीच इगो क्ल्यास हुन्थ्यो। जो मान्छे लिडरसिपमा हुन्छ उति धेरै इगो हुन्छ। इगो भएको मान्छेले इख त लिइहाल्छ। तर इख लियो भन्दैमा पार्टी छोडेर वा नाता नै टुटाउने कुरा त हुँदैन नि। अहिले तपाइले हेर्नुभयो भने यो पार्टीमा सबैभन्दा लगानी गरेका नेताहरु रामचन्द्र पौडेलजी र शेरबहादुर देउवाजी हो। कति झगडा गर्नुहुन्छ दुईजना? दुई जना बुढा कस्तो बच्चजसरी झगडा गर्थे। तर देशको कुरा आएपछि मिल्छन्। देशको कुरा आउँदा जहिले पनि विचारमा एक हुन्छन्। यो कुरा हामीले पनि सिक्नुपर्छ।
पार्टीभित्र सबैको कुरा चित्त नबुझ्न सकिने तर यति हुँदैमा राजनीति नै त्यागेर गाली गर्नुपर्छ भनेर लाग्यो भने त्यो राजनीति धेरै टाढा जाँदैन। हाम्रो ठूलो लक्ष्य के हो हेरेर राजनीति गर्नुपर्छ। समयले कहिले दोस्ती गराउँछ कहिले टाढा पुर्याउँछ। तर जति नै बाझे पनि हामी कांग्रेसकै कार्यकर्ता भएर बस्ने हो। अनि किन झगडा बाहिर ल्याएर जग हँसाउने? अहिले जुन हामीले देखिरहेका छौं कि इन्डिपेन्डेन्ट आउने, को आउने, के आउने? यही हाम्रो तमासा हेरेर हो। भाइ फुटे गवार लुटे हामीले सुनेकै छौ नि। आफू आफू झगडा गरेपछि अरुले आएर चिह्याउन पाउँछ। यो कुरालाई हामीले मनन गर्नुपर्छ।
नेतृ राणाले सामाजिक सञ्जाल चलाउँदा ख्याल गर्न नेता कार्यकर्तालाई सचेत गराइन्। ‘सोसल मिडिया भन्ने प्राणी अत्यन्तै इन्ट्रेस्टिङ लाग्यो। यसमा अलि केयरफुल हुनुपर्छ। अहिले एउटा स्टाटस लेख्नुहुन्छ। कसैले फोटो बनाएर राखेको हुन्छ। भोलि त्यो ठाउँमा पुग्नुहुन्छ। ठ्याक्कै पठाइहाल्छ। पहिले यस्तो भनेको होइन भनेर प्रश्न गर्छ । सामाजिक सञ्जाल प्रयोग गर्दा बुद्धिमतापूर्वक प्रयोग गर्नुस् । म पर्सनल कुरा हाल्दिन। पब्लिक भेटघाटका कुराहरुमात्रै हाल्छु। व्यक्तिगत कुराले भोलि समस्या हुनसक्छ।