काठमाडौं । भारतमा पढ्ने छोरी पुर्याउन नयाँदिल्ली गएका नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहलाई नयाँदिल्लीस्थित नेपाली राजदूतावासले नै खबर नगरेको पाइएको छ ।
भाजपाका नेताहरुसँग कुरा गरेर आफूले प्रचण्डको भ्रमणको वातावरण मिलाएको र आफू भारतमा दूत बनेर भूमिका खेलेको दाबी गर्दै आएका अमरेशलाई नेपाली दूतावासले नै बहिस्कार गरेको पाइएको हो ।
नेपाली दूतावासले शुक्रबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रथम महिला आरजु राणा देउवाको सम्मानमा रात्रिभोज आयोजना गरेको थियो । तर उक्त कार्यक्रममा अमरेशलाई बोलाइएन । किनभने उनी राजनीतिक यात्रा भन्दा पनि पारिवारिक यात्रामा दिल्ली गएका थिए ।
तर अमरेशले विभिन्न माध्यममार्फत राजनीतिक वृत्त र जनतामाझ प्रचण्डको भ्रमण सेट गरेको र डा. आरजु राणाको भ्रमण सफल बनाउन दिल्ली आएको दाबी गर्दै हिँडिरहेका छन् ।
त्यतिमात्र होइन अमरेशले नरेन्द्र मोदी, अजित डोभाल र एस जयशंकरसँग सिधा सम्पर्क गरेर प्रचण्ड र आरजुलाई दिल्ली लगेकोसम्मको दिउँसै रात पार्ने दाबी गरिरहेका बेला नेपाली राजदूतले नै नपत्याएपछि उनको भण्डाफोर भएको छ ।