पाँचथर । तल्लो हेंवा जलविद्युत आयोजनाको निर्माणकार्य सम्पन्न भएपछि केन्द्रिय प्रसारण लाइनमा २२.३४ मेगावाट विद्युत थपिएको छ ।
माउन्टेन हाइड्रोपावर कम्पनीले ७० करोड लागतमा निर्माणकार्य सम्पन्न गरेको छ । उत्पादित विद्युत १३२ केभिए काबेली करिडोर विद्युत प्रसारणलाइन फिदिम–४, थापाटारमा रहेको सवस्टेशनबाट केन्द्रीय लाइनमा जोडिएको हो । आयोजनाले साउन ४ गतेबाट परिक्षण उत्पादन सुरु गरेको हो ।
परिक्षण सुरु गरिएको १५ दिनपछि विद्युत बिक्री गर्न थालिने आयोजना प्रमुख गणेश सुब्बाले बताए । आयोजनाबाट प्रतिदिन ७० हजार युनिट विद्युत उत्पादन हुने गरेको छ । अब दिनको २२ लाख रुपैयाँसम्म आम्दानी हुने आयोजना निर्देशक दीपेन्द्र आङ्बोले बताए। आयोजनामा १२ वटा वाणिज्य बैंकको ७० प्रतिशत लगानी रहेको छ ।