काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चीनबाट भारत र दक्षिणपूर्वी एसियामा खतरा बढ्दो क्रममा रहेको बताएका छन् ।
पोम्पेओले चिनियाँ कम्युनिस्ट पार्टीको गतिविधि भारत, भियतनाम, इन्डोनेसिया, मलेसिया, फिलिपिन्स र दक्षिण चीन सागरको लागि खतरा रहेको बताएका हुन् ।
ब्रसेल्स फोरममा बोल्दै पोम्पेओले चीनबाट भारत र दक्षिणपूर्वी एसियामा खतरा बढ्दो क्रममा रहेको भन्दै युरोपमा रहेको अमेरिकी सेना कटौती गर्ने बताएका छन् । उनले चिनियाँ सेनाको सामना गर्नका लागि तयार रहन युरोपबाट सेना कटौतीको निर्णय अघि सारिएको धारणा राखेका हुन् ।
विदेशमन्त्री पेम्पेओले चीनबाट उसका छिमेकी मुलुकहरुमा रहेको खतराप्रति आफ्नो निगरानी जारी रहेको बताएका छन् । चीनको खतराको विषयमा अमेरिकाले युरोपसँग पनि छलफल गर्न गइरहेको पोम्पेओको भनाइ छ । उनले चीनको गतिविधि रोक्नका लागि ईयू र अमेरिका मिलेर अघि बढ्नुपर्ने जरुरी रहेको बताएका छन् ।