ओलीविरुद्ध माधव नेपाल आक्रामक, पदबाट हटाउन प्रमाण संकलन गर्दै, प्रमाण देखेर प्रचण्ड दंग

  |   प्रकाशित :

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल अब प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउनुको विकल्प नभएको निष्कर्षमा पुगेका छन्।

पार्टीभित्रको विवादको गाँठो फुकाउन सिनियर अध्यक्षको हैसियतले बैठक बोलाएर अघि बढ्नुपर्नेमा बहुसंख्यक सदस्यले माग गर्दा पनि बैठक टार्दै हिँडेपछि नेपाल र प्रचण्ड अब बहुमतबाट हटाउनुको विकल्प बाँकी नरहेको निष्कर्षमा पुगेका हुन्।

ओलीको स्वेच्छारी र अहंकारी रवैयाविरुद्ध पूर्वएमाले खेमाकै माधव नेपाल बढी आक्रामक छन्। प्रचण्ड अझै पनि मिलेर जानुपर्छ भन्ने पक्षमा भए पनि नेपाल भने ओलीविरुद्ध एक्सन लिन प्रमाण खोजीमा जुटेका छन्। त्यसो त ओलीले नेपाललाई फकाउन विभिन्न नेता र च्यानल प्रयोग गरिसकेका छन्। तर नेपाल आफ्नो अडानमा यथावत छन्।

त्यसैले नेपाल ओलीलाई हटाउने खालका दस्तावेजको खोजीमा जुटेका छन्। केही दस्तावेज उनले संकलन गरिसकेको उनी निकट स्रोत बताउँछ। नेपालले आफूले संकलन गरेका दस्तावेज प्रचण्ड र झलनाथ खनाललाई देखाएका छन्। पार्टी एकताका बेलाको आन्तरिक विधानमा व्यवस्था भएबमोजिम अध्यक्षको अधिकार र कर्तव्य, पार्टी एकताको घोषणा र विधानमा रहेको बहुमतको निर्णय पार्टी निर्णय हुने धारा ६० को व्यवस्थाबारे अवगत गराएका हुन्।

जुन विधान ओलीले नै सच्याएर बनाएका थिए। नेता नेपालको दस्तावेज संकलन र तयारी देखेर प्रचण्ड र खनाल दंग छन्। प्रधानमन्त्री ओलीसँग वार्ता गर्न जानुअघि नेता नेपालले प्रचण्ड-झलनाथलाई यी विषय स्मरण गराउँदै आएका छन्। यी घटनाक्रम र तयारी हेर्दा पार्टी विधि, विचार र नीतिबाट चल्ने र त्यसका लागि अब तथ्य प्रमाणसहित पेस हुनुपर्ने अवस्था आएको नेपालको बुझाइ देखिन्छ।

त्यसका लागि उनले अहिले नेकपाभित्र चर्किएको अन्तरसंघर्षमा काम लाग्ने ठानेर एकता गर्दादेखिका सबै सक्कली कागजपत्र खोजेर राखेका छन्। प्रधानमन्त्री ओलीको कायैशैली र व्यक्तिगत प्रवृत्तिका विरुद्ध अहिले नेकपाभित्र अध्यक्ष दाहाल, वरिष्ठ नेता नेपाल,खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठले आवाज उठाइरहेका छन्। वामदेव भने दोधारे चरित्रमा छन्। यता नेता नेपाल स्वयंले पनि आफूले विधि र पद्धतिको कुरा उठाउँदै बताउँदै आएका छन्।

सक्दा सहमतिका आधारमा जानुपर्ने र नभए विधानअनुसार बहुमतको निर्णयलाई सबैले मानेर जानुपर्छ भन्दै नेता नेपालले संस्थागत निर्णय सबैले मान्नुपर्ने सन्देश आफूलाई भेट्न आएका ओलीका दूतलाई दिँदै आएका छन्। नेता खनाल पनि अब प्रधानमन्त्रीको कार्य शैलीगत र वैचारिक प्रवृत्तिलाई दस्ताबेजीकरण गर्नुपर्ने बेला आएको बताउँछन्। यता प्रचण्ड पनि नेता नेपालले अघि सारेको कुरामा सहमत छन्।

ओलीले आफूलाई सिध्याउन खोजेको प्रचण्डले महसुस गरेका छन्। पूर्वएमाले एकातिर राख्ने र पूर्वमाओवादीमाथि आक्रमण गर्ने, पूर्वमाओवादीको असन्तुष्टलाई पनि आफूतिर तान्ने र आफू र आफूनजिकलाई मुख्य आक्रमणको तारो बनाउने गरी ओलीले षडयन्त्रकारी नीति बनाएको प्रचण्डको आरोप छ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech