प्रिमियर लिगले चिनियाँ कम्पनीसँग गरेको ५६.४ करोड पाउन्डको करार गर्यो रद्द

  |   प्रकाशित :

काठमाडौं । प्रिमियर लिगले चिनियाँ कम्पनीसँग गरेको करार रद्द गरेको छ ।

तत्कालबाट लागू हुने लिगले चिनियाँ कम्पनीसँग गरेको ५६.४ करोड पाउन्ड बराबरको करार रद्द गरेको हो । सन् २०१९ मा तीन सिजनका लागि गरिएको करार रद्द गर्नुमा राजनीतिकभन्दा आर्थिक कारण प्रधान रहेको बताइएको छ । स्ट्रिमिङ सर्भिस पीपीटीभीले गत मार्चमा १६ करोड पाउन्ड रकम नतिरेको बीबीसी स्पोर्टले जनाएको छ ।

बिहीबार विज्ञप्ति जारी गर्दै प्रिमियर लिगले चीनको प्रशारणका लागि गरिएको करार रद्द गरिएको जानकारी दिएको छ । प्रिमियर लिगले यस विषयमा थप टिप्पणी नगर्ने बताएको छ । पीपीटीभीमा सुनिङ होल्डिङको स्वामित्व रहेको छ । यसको सिरिए ए टोली इन्टर मिलानमा पनि सेयर रहेको छ ।

घरेलु टेलिभिजन राइटको मूल्यमा गिरावट आइरहेको बेलामा प्रिमियर लिग क्लबहरुका लागि चीन बजार बृद्धिको अवसर बनेको थियो । अहिले धेरै प्रिमियर लिग क्लबमा चिनियाँ लगानीकर्ता तथा स्पोन्सरहरुको लगानी रहेका छन् ।

महामारीमा टिकट बिक्रीको करोडौँ पाउन्ड गुमिरहँदा यो करार रद्द हुनुलाई अर्को ठूलो धक्का मानिएको छ । यसमा गत मार्चमा चिनियाँ कम्पनीले १६ करोड पाउन्ड तिर्न नसकेको कारण सुरु भएको कानुनी विवादबीच यो करार रद्द गरिएको भनिए पनि यसमा राजनीतिक कारण पनि रहेको आशंका गरिएको छ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech