गाउँका ‘पञ्च’हरुले बलात्कारको उजुरी गर्न नदिएपछि सप्तरीकी एक किशोरीले गरिन् आत्महत्या 

  |   प्रकाशित :

सप्तरी । जबरजस्ती करणी सम्बन्धी कसूरकी पीडितले आत्महत्या गरेकी छन् ।

गाउँलेले बलात्कार गर्नेहरु विरुद्ध उजुरी गर्न नदिएपछि डाकनेश्वरी नगरपालिकाकी १७ वर्षकी किशोरीले आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ । सोमबार बिहान धानखेतमा पानी हेर्न गएकी किशोरीमाथि सामूहिक बलात्कार भएको पीडितकी आमाको भनाई छ । आरोपित चार जनाविरुद्ध प्रहरी कार्यालय जान खोज्दा गाउँलेको भेला बसी रोकेपछि छोरी निकै तनावमा परेकी पनि उनले बताए । 

जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र धमलाका अनुसार प्रहरीले किशोरीको मृत्यु भएपछि मात्र घटनाबारे जानकारी पाएको थियो । लगत्तै घटनाबारे अनुसन्धान थालिएको उनको भनाइ छ । त्यस्ते, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष खड्काका अनुसार गाउँले भेलाको निर्णय चित्त नबुझेपछि किशोरीले पीडा सहन नसकी आत्महत्या गरेकी हुन् ।

गाउँका ८/१० जनाको छलफलले पीडित र उनकी आमालाई प्रहरी कार्यालय जान रोक लगाउँदै आरोपितबाट ५५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने निर्णय गरेको थियो । किशोरीले आत्महत्या गरेपछि सामुहिक बलात्कारका चार आरोपित फरार भएका छन् । प्रहरीले पीडितलाई प्रहरी कार्यालय जान रोक लगाउने र क्षतिपूर्ति भराउने निर्णय सुनाउनेमध्ये जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डललाई पक्राउ गरेको छ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech