असोज १ गतेबाटै लामो दुरीमा सार्वजनिक सवारी चल्ने, 'खासै तयारी छैन'

  |   प्रकाशित :

काठमाडौं । असोज १ गतेबाटै लामो दुरीमा सार्वजनिक सवारी चल्ने भएको छ । 

यातायात व्यवसायी र मजदुरहरु भोलि असोज १ गतेबाटै लामो दुरीमा सार्वजनिक सवारी चलाउन सहमत भएका हुन् । विहान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा यातायात व्यवसायीले सरकारको स्पष्ट स्वास्थ्य मापदण्ड र त्यसको कार्यविधि आए भोलिबाटै सेवामा जाने बताएका हुन् ।

बस चलाउँदा पालना गर्नुपर्ने स्वास्थ्य सतर्कतामा मापदण्डसहितको कार्यविधि साँझसम्म जारी गर्ने सहमति भएको छ । यसअनुसार यातायात व्यवस्था विभागले बुधबार नै मापदण्ड फाइनल गरेर सार्वजनिक गर्ने मन्त्रालयका एक अधिकारीले बताए ।

यसैमा यातायात व्यवसायी राष्ट्रिय महासंघले यसअघि असोज ५ गतेदेखि भने पनि सरकारले एकाएक निर्णय फेरेकाले खासै तयारी नभएको जनाएको छ । ६ महिनासम्म थन्किएका गाडीलाई मर्मत नगरी गुडाउन नसकिने भएकाले तत्काल गाडी चलाउन सकिने अवस्था नरहेको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताए ।

भोलिदेखि लामो दूरीको गन्तब्यमा जाने यात्रुका लागि आजैदेखि काउन्टर खोलेर टिकट खुलाउनुपर्ने भएकाले अहिलेसम्म तयारी नभएको उनको भनाई छ । सार्वजनिक यातायात सञ्चालन गर्दा अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गर्नुपर्ने सरकारले मापदण्ड तोकेको छ । गाडीको आवागमन रोकिराख्दा देशको एक भागबाट अर्को भागमा पुग्नुपर्ने यात्रु र व्यवसायीले कठिनाइ भोग्नुपरेको भन्दै सरकारले भोलिदेखि खुला गर्ने निर्णय गरेको हो ।

गाडीमा सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु र ५० प्रतिशतसम्म बढी भाडा लिन पाइनेछ । तर लामो दूरीमा चल्ने गाडीमा सिटमा कति जनासम्म राख्ने, कहाँ र कसरी खाना नास्ता खुवाउने, सङ्क्रमणरहित बनाउन के के गर्ने लगायतका विषयमा यातायात व्यवसायी र मजदुर अन्योलमै रहेका सिटौलाको भनाई छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech