संविधान दिवसमा भोको पेटसामु पुष्पवृष्टि, ‘संविधान बनाउनेको मन पो सानो छ त !’

  |   प्रकाशित :

खुलामञ्‍च, काठमाडौं । संयोग यस्तो जुर्‍यो कि देवीप्रसाद सिवाकोटीसँगै पर्खिएर बसिरहेकाहरूका लागि भनेर खाना बोकेको ‘हाम्रो टिम नेपाल’ को गाडी खुलामञ्चमा र गाँस–बासलाई मौलिक हकमा राखिएको संविधानको छैटौं वार्षिकोत्सव मनाउन राष्ट्रपति विद्यादेवी भण्डारीको सवारी सैनिक मञ्चमा सँगसँगै छिरे ।

यता गाँसका लागि आँखा बिछ्याएकाहरू लस्करै बस्दा उता सैनिक मञ्चमा बजेको सलामीको धुन गुन्जियो । सेनाको कलाकौशलसहितको धुनले भनिरहेको थियो, ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे ।’

त्यसको केहीबेरमा संविधान दिवसको ब्यानर बोकेर फन्का मारेको हेलिकप्टरले सिवाकोटीजस्तै खानाका लागि खुलामञ्चमा भेला भएकाहरूको ध्यान खिच्यो । नजिकै बजिरहेका गाडीका हर्नसमेत फिक्का सुनिने गरी हेलिकप्टरको आवाज आयो । उनले निधारमा हातको छेको पारेर उडिरहेको हेलिकप्टरतिरै हेरे र झुन्डिएको ब्यानरका अक्षरमा आँखा दौडाए ।

No description available.

०००

‘त्यहाँ लेखेको अक्षर पढ्न सक्नुभयो  ?’

‘किन नसक्नु त्यति ठूला अक्षर छन्,’ हाम्रो प्रश्नमा उनले भने, ‘संविधान दिवस २०७७ ।’

उनले थपे, ‘संविधान बनाउनेको मन पो सानो छ त !’

संविधान दिवस सम्झाउन ब्यानर र पुष्पवृष्टि गर्न फूलका थुँगाहरू बोकेर उडेका हेलिकप्टर टुँडिखेलको आकाशबाट बिस्तारै ओझेल पर्दै गए, दुई दिनअघिबाट मात्रै चल्न थालेका गाडीका हर्न फेरि बज्न थाले । दोलखा सिंगटीका ६० वर्षीय सिवाकोटीको मन भने विगतको सम्झनाले बेस्सरी हुँडल्यो ।

त्यसपछि हामीले उनलाई केही सोध्नै परेन, पुराना स्मृतिमा खुरुरु दौडिए । २०४६ सालमा काठमाडौं छिरेका उनलाई त्यो बेलाको आन्दोलन हल्काफुल्का याद छ । तर २०६२र६३ को जनआन्दोलनमा भने उनी जमेरै लागे । पुतलीसडक र बागबजारमा धेरै पटक प्रहरीसँग जम्काभेट भयो । उनले बारम्बार आन्दोलनको भीडमा बर्सिएको इँटाको प्रहार सहँदै गणतन्त्रका लागि नारा लगाएका हुन् त्यतिखेर । उनी आन्दोलनमा होमिनुको मुख्य उद्देश्य गरिब र धनीबीचको खाल्डो पुर्नु थियो ।

२०७२ को संविधान जारी हुने बेलामा पनि सिवाकोटी खुब हौसिए । उनलाई आफूजस्तै मजदुरहरू सडकमा उत्रिएकै कारण गणतन्त्र आएको आभास भइरहन्थ्यो । परिवर्तित व्यवस्थाप्रति उनको अपनत्व थियो । त्यसैले त्यो दिन पनि उनले उत्सव मनाए । ‘गणतन्त्र आएपछि सबै बराबर हुन्छन् भनेका थिए, मजदुरलाई अझ धेरै फाइदा हुन्छ भनेकाले आन्दोलनमा गएको थिएँ,’ उनले भने, ‘अहिले त झन् बाटोमा आएर भात माग्नुपर्ने अवस्था आयो ।’ उनलाई संविधानले प्रत्याभूत गरेका अधिकारबारे सबै कुरा थाहा रहेछ तर संविधानमै लेखिएको कुरा पनि पूरा नभएकामा दुःखमनाउ गरे ।

होटलमा मजदुरी गरेर जहान–परिवार पाल्दै आएका सिवाकोटी लकडाउनलगत्तै होटल बन्द भएपछि विलखबन्दमा परेका हुन् ।

सुरुसुरुमा उनलाई दुःखका बेला सरकारले हेर्छ भन्ने आस थियो तर परिस्थिति झन् बिग्रिँदै गयो । कोठाका भाँडाकुँडासँगै पेट पनि रित्तो हुन थालेपछि भोक खप्न नसकेर उनी खुलामञ्च धाउन थाले । छिमेकको सैनिक मञ्च र त्यसमाथिको आकाशको तामझाम भने उनले लकडाउनपछि पहिलो पटक देखे । ‘यहीं भाषण गरेर राजा फालेका नेता पर्खालपारि छन्,’ उनले भने, ‘हामीलाई कसले हेर्छ र ?’

०००

सैनिक मञ्चको सुरक्षा व्यवस्था पनि यति कडा थियो कि पोहोर परारझैं नागरिकले संविधान दिवसको कार्यक्रम रेलिङमा झुन्डिएर हेर्न त के आसपासमा हिँड्नसमेत पाएका थिएनन् । राष्ट्रपतिको सवारी चल्दा बाटोबाट खेदिएका अधिकांश खुलामञ्चतिरै छिरेका थिए । खाली सडकमा हुइँकिएर आएका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित मुलुकका दिग्गज व्यक्तित्वहरूले खुलामञ्चतिर हेर्ने कुरा भएन । खुलामञ्चमा भेला भएकामध्ये अधिकांशले संविधानले आफ्नो पनि अधिकारको कुरा गरेको छ तर कार्यान्वयन गरेको छैन भन्ने बुझेकै थिए ।

सैनिक मञ्चमा प्रधानमन्त्री ओलीले संविधान सबै अट्ने गतिशील दस्ताबेज भएको बताउँदै त्यसैलाई मियो मानेर सिर्जनशील र रचनात्मक ढंगले क्रियाशिल हुन आग्रह गरे । लकडाउनका बेलासमेत विकासका काम नरोकिएको भन्दै सन्तोष व्यक्त गरे । कोभिड–१९ को संक्रमण बढेपछि स्वास्थ्य क्षेत्रमा सरकारले गरेका प्रयास र प्राप्त उपलब्धिहरूको फेहरिस्त सुनाए । ‘आपत्मा अत्तालिने र समयक्रममा बिर्सने मानवीय स्वभावलाई ध्यानमा राखी म त्यतिबेलाको अवस्था स्मरण गर्न यी विषयमा चर्चा गरिरहेको छु,’ गत साल चैत ११ अघिको परिस्थिति सम्झिँदै प्रधानमन्त्री ओलीले भने, ‘हामीले जनताको जीवनरक्षा पहिला भन्ने नीति अगाडि सार्‍यौं ।’

तर उनले दाबी गरेझैं न कोरोना न त लकडाउनपछिको हाहाकार नियन्त्रणमा सरकारले प्रगति गरेको छ । कोरोना नियन्त्रणका नाममा कहिले लकडाउन र कहिले निषेधाज्ञा भइरहे पनि कोरोना संक्रमितको संख्याले दिनदिनै पुराना रेकर्डहरू तोडिरहेको छ । लकडाउनपछिको जिन्दगी सहज नहुँदा एक पेट खानाका लागि छटपटिएर पाँच जना नागरिकको ज्यान गइसकेको छ । तर जनताद्वारा, जनताका लागि जननिर्वाचित प्रतिनिधिबाट लेखिएको संविधानले सिर्जना गरेको नयाँ राज्यव्यवस्था सञ्चालन गरिरहेको बताएका प्रधानमन्त्री ओलीले ‘विशेष सम्बोधन’ मा पनि जनताले पाएका दुःख कोट्याउनै चाहेनन् । बरु उनले सञ्चारजगत्, कर्मचारीतन्त्र र राजनीतिक प्रतिस्पर्धीहरूसँगको गुनासो दोहोर्‍याए ।

०००

सडकमै गीत गाएर जीवन धानिरहेका दृष्टिविहीन अर्जुन सापकोटालाई पाँच वर्षअघि देशमा संविधान बनेपछिको हर्षोल्लास एक–एक याद छ । तर त्यसपछि पनि दैनिकीमा कुनै फेरबदल नआएपछि उनले यो संविधान निमुखाका लागि हैन रहेछ भन्ने ठम्याइसकेका रहेछन् । अझ सरकारले मानवमुक्त सडक बनाउने अभियान थालेपछि अर्जुन र उनको टोलीलाई प्रहरीको भ्यानमा हालेर मानव सेवा आश्रममा समेत पुर्‍याइयो ।

‘जानेको सीप देखाएर गरिखान पनि नदिने संविधान कसरी हाम्रो भयो र ?’ खाँदाखाँदै रोकिएर अर्जुनले भने, ‘संविधान त भन्ने मात्रै, लेख्ने मात्रै रै’छ । भन्नचाहिँ यो गर्छु र ऊ गर्छु भन्छन् तर खालि भ्रष्टाचार मात्रै गर्छन्, आफ्ना मान्छेहरू मात्रै हेर्छन् । मलाई त नेताहरूको विश्वासै लाग्दैन ।’ उनकै कुरामा सही थापिन् उनीसँगै गीत गाएर जीविका धान्दै आएकी दृष्टिविहीन भावना कोइरालाले ।

सैनिक मञ्चमा प्रधानमन्त्री ओलीको दाबी अर्कै थियो । उनले भ्रष्टाचारका सन्दर्भमा आफ्नो शून्यसहनशील नीति रहेको दाबी गरे । ‘सुशासन र पारदर्शिता विकासको अत्यावश्यक सर्त हो, अख्तियारको दुरुपयोग, भ्रष्टाचार र अनियमितता नियन्त्रण चुनौतीपूर्ण रहेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘मैले पटक–पटक भन्दै आएको छु– ‘भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ र भ्रष्टाचारीविरुद्ध बोल्दा मुखमा पानी हालेर बोल्दिनँ ।’

भ्रष्टाचार नियन्त्रणमा सरकारले ठूलो उपलब्धि हासिल गरेको उनले बताए । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मात्रै बितेका दुई आर्थिक वर्षमा ७९२ केसहरूमा मुद्दा चलाएको छ,’ उनले भने, ‘राजस्व अनुसन्धान विभागले १ हजार २७ जनाविरुद्ध ३१ अर्ब ५ करोडभन्दा बढीको बिगोदाबीसहित राजस्व चुहावट, विदेशी मुद्रा अपचलन तथा अवैध हुन्डी कारोबारमा मुद्दा चलाएको छ ।’ तर उनले लकडाउनपछि यति मजदुरको उद्धार गर्‍यौं, यति ठाउँमा राहत बाँड्यौं जस्ता तथ्यांकहरू सुनाएनन्, जुन अहिलेको अपरिहार्यता थियो ।

ओलीले चौतर्फी सुरक्षाकर्मीको घेरामा बसेर विकास र समृद्धिको फेहरिस्त सुनाइरहेको आवाज खुलामञ्चमा आक्कलझुक्कल मात्रै आइपुग्थ्यो । बरु स्वयंसेवीले खाना पस्किँदा बजेको डाडुपन्युँको आवाजले उनीहरूको कान ठाडा हुन्थे, आँखा टाठा । त्यही भीडबाट धनगढीका ६२ वर्षीय राजकुमार थापाले भनेका हुन्, ‘मजदुरी गरेर खाँदासम्म हामीले कसैलाई दुस्ख देखाएनौं । अहिले मजदुरी गर्न नसक्ने हुँदा सडकको बास भयो ।’

No description available.

उनले जस्तोसुकै शासन आए पनि गरिबले कहिल्यै दुःखको भारी बिसाउन नपाइने रहेछ भनेर गुनासो गरिरहँदा प्रधानमन्त्री ओली कोरोनाका कारण समृद्ध मुलुक बनाउन पछि पारिएको फेहरिस्त सुनाउँदै थिए । ‘कोरोना महामारी हुँदैनथ्यो भने गत वर्ष कबुल गरिएका कतिपय काम सम्पन्न भएको विवरणको आज चर्चा हुने थियो, केही राष्ट्रिय गौरवका आयोजनाहरू उद्घाटन हुने थिए, भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हुने थियो,’ ओलीले भने, ‘माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट ऊर्जा उत्पादन सुरु भएको हुने थियो । मेलम्चीको पानी आउन थालेको हुने थियो । रानीपोखरीको पुनर्निर्माण सम्पन्न भइसकेको हुने थियो । धरहरा निर्माणको कार्य सकिने थियो । निजी आवास पुनर्निर्माणको काम पूर्ण रूपमै भइसकेको हुने थियो ।’

उसो त प्रधानमन्त्री ओलीले भोजनभन्दा सुरक्षा प्राथमिकतामा पर्छ भनेर शुक्रबार मात्रै भनेका छन् । तर एक पेट खानका लागि आफ्नै नागरिकले गरेको संघर्षलाई नजरअन्दाज गर्दै साँघुरो घेरामा मनाइएको संविधान दिवसले राज्यको प्राथमिकतालाई झन्झन् संकुचित गराइरहेको प्रतीत हुन्थ्यो । भलै प्रधानमन्त्रीले भनेका छन्, ‘ऋतु फेरिन्छन् । जतिसुकै पीडा वा छटपटी रहे पनि मानिसहरू जीवनलाई निरन्तरता दिन्छन् ।’ तर उनले यो भनेनन्, ‘जीवनको मायाले नागरिक दसौं किलोमिटर हिँडेर खुलामञ्च आइपुग्छन्, सार्वजनिक शौचालयका अघिल्तिर टुसुक्क बसेर मनकारीहरूलाई पर्खिन्छन्, एक छाक खान्छन् र फर्किन्छन् ।’  याे समाचार स्टाेरी कान्तिपुर दैनिकमा छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech