नेपाली भूमि कब्जा गरेर भवन बनाउने चीनको बचाउमा नेकपाका सांसद

  |   प्रकाशित :

काठमाडौं । उत्तरी छिमेकी चीनले हुम्लामा नेपाली भूमि कब्जा गरेर भौतिक संरचना निर्माण गरेको छ।

सारा स्थानीय जनता, जनप्रतिनिधि र जिल्लावासी चीनको यो कदमको विरोधमा छन्। तर सत्तारुढ नेकपाका एक सांसद भने चीनको बचाउमा उत्रिएका छन्। हुनत चीनसँग नेकपाको घनिष्ठ सम्बन्ध छ। नेताहरुलाई प्रशिक्षण समेत दिएको छ। सरकार ढल्न लाग्दा जोगाइदिएको छ।

तैपनि सीमा मिचिएको विषयमा त्यहीँ निकटताका कारण बचाउ गर्नु कहाँसम्मको राष्ट्रवाद हो। भारतले सीमा मिच्यो भनेर हल्ला गर्दै राष्ट्रवादी बन्ने तर त्यसैगरी सीमा मिच्ने चीनको बचाउ गरेर नेकपाका सांसदले द्वैध चरित्र देखाएका छन्। हुम्लाबाट निर्वाचित नेकपाका सांसद छक्क बहादुर लामाले चीनले नियतवश भवन नबनाएको दावी गरे। जबकी स्थानीय र सुरक्षा स्रोतले पिल्लर हराएको ठाउँमा मौका हेरेर कब्जा गरेको बताइरहेका छन्।

तर तिनै जनताको मतबाट सांसद बनेका लामा भने जनभावना विपरित चीनको बचाउँमा लागेका छन्। सीमामा रहेको खाली जग्गामा भवन बनेको र त्यसमा कति भूमि उनीहरुको र कति हाम्रो भन्ने एकिन नभएको लामा बताउँछन्। नापेपछि थाहा हुने र काउन्टरपार्टलाई बोलाएर नापेर स्पष्ट गर्नुपर्ने उनको भनाई छ।

लामाले लामो समयदेखि बन्द रहेको कैलाश मानसरोवरसम्मको क्याराभान रुटअन्तर्गत नयाँ सडक खोल्ने क्रममा भवन राखेको बताउँदै चिनियाँहरुले नियतवश जानेर नगरेको भन्दै फेरि बचाउ गरे। भवन नियतवश नबनेको उनको दावी छ।

नेपालीलाई जान प्रतिबन्ध, चिनियाँ आर्मीसँग गाउँपालिका अध्यक्ष पनि डराए

नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालीपारीको गाउँ लिमीको लाप्चा सीमा क्षेत्रमा नेपाललाई जानकारी नदिएरै चीनले ९ वटा भवन बनाएको छ। निर्माण कार्यको स्थानीयले विरोध गरेका छन्। तर निर्माण कार्य रोकिएको छैन।

सीमाबाट नेपालतिर एक किलोमिटर भित्र चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाएको नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङले जानकारी दिए। उनी केही दिनअघि सो क्षेत्रमा अवलोकनका लागि पुगेका थिए। भवन बनाएको ठाउँमा जान भने सकेनन्। सो क्षेत्रमा चिनियाँले नेपालीलाई जान प्रतिबन्ध लगाएका छन्। चिनियाँ सुरक्षाकर्मीले प्रवेश गर्न दिएका छैनन्। उनीहरु गाडीमा नेपाली भूभागमा भने ओहोरदोहोर गरिरहन्छन्।

गाउँपालिका अध्यक्षसहित स्थानीय जनप्रतिनिधि र स्थानीय सरकार चिनियाँ सुरक्षाकर्मीसँग डराएर घटनास्थल पुग्न सकेन्। ती भवनहरु नेपाली भूभाग गबु याल्मामा व्यापारिक प्रयोजनका बनाएको तामाङको भनाई छ। चिनियाँ अधिकारीसँग समन्वय गर्न खोज्दा सम्पर्कमा नआएको उनले गुनासो गरे। भवन निर्माण भएको ठाउँ नजिकै १२ नम्बर सीमा पिल्लर छ।

११ नम्बर पिल्लर हराएको छ। यो भवन यहीँ पिल्लर हराएको मौका छोपेर चिनियाँले कब्जा गरेर बनाएको सुरक्षा स्रोतले बताएको छ। भवन निर्माण भएको वडा नम्बर ६ का वडाअध्यक्ष पाल्जोर तामाङले भवन निर्माणस्थल नेपाली भूभाग नै भएको बताए। आफूहरुसँग चिनियाँले कुनै समन्वय नगरेर एकलौटी रुपमा कब्जा गरेर संरचना बनाएको उनको भनाई छ।

चीनले कब्जा गरेर भवन बनाएपछि त्यहाँको अवस्था बुझ्न र नापजाँच गर्न प्रमुख जिल्ल अधिकारी चिरिञ्जीवी गिरि, सुरक्षा निकायका प्रमुख, नापी कार्यालयका अधिकारी र गाउँपालिकाका जनप्रतिनिधि त्यहाँ गएका छन्। थप विवरण आउन बाँकी छ। यसअघि चीनले नेपालको उत्तरी क्षेत्रमा विभिन्न ठाउँमा नेपाली भूमि कब्जा गरेको खबरहरु आएका थिए।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech