चीनले देखायो रवैया: नेपालले किनेर ल्याएको अत्यावश्यक स्वास्थ्य सामग्री रोक्यो, ओली सरकारलाई पनि टेरेन

  |   प्रकाशित :

काठमाडौं । उत्तरी छिमेकी चीनले नेपालले किनेका स्वास्थ्य सामग्री नाकामै रोकेको छ।

कोभिड महामारी देखाउँदै नाका बन्द गरेर अत्यावश्यक स्वास्थ्य सामग्री नै आउन नदिएको हो। हुम्लाको सीमास्थित नेपाली भूमि कब्जा गरेर भवन बनाउँदै रवैया देखाइरहेको चीनले केरुङमा पनि रवैया देखाएको हो।

नाकामा चीनले बालबालिकालाई दिइने बीसीजी खोपमा प्रयोग हुने ११ लाख थान ‘अटो डिस्पोजेबल’ सिरिन्ज नै रोकिदिएको छ। तीन सातादेखि नाका बन्द गरेर चीनले नेपालले किनेको सिरिन्ज बोकेको कन्टेनर सडकमै अलपत्र पारेको छ।

चिनियाँ रवैयाका कारण कोभिड–१९ संक्रमण नियन्त्रण र उपचारका लागि खरिद गरिएका पीसीआर मेसिन, भीटीएम, किट, पीपीई, मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री पनि चीनको गोदाममा थन्किएको व्यवसायीले बताएको कान्तिपुरमा ऋषिराम पौड्यालले लेखेका छन्।

स्वास्थ्य सामग्री नाकामा अलपत्र पर्दा केपी शर्मा ओली नेतृत्वको सरकारले पहल नगरेको भने होइन तर टेरेको छैन। रसुवागढी भन्सारले पनि स्वास्थ्य सामग्री भित्र्याउन पहल गरेको थियो। तर सकेन। एक सातादेखि बाटोमा स्वास्थ्य सामग्री अलपत्र छ। स्वास्थ्य सामग्री समयमै नआए बालबालिकाको खोप प्रभावित हुने चेतावनी स्वास्थ्य विभागले दिएको छ। चीनसँग केन्द्र सरकारले परराष्ट्र मन्त्रालयमार्फत पनि पहल गरिरहेको छ।

तर निष्कर्षमा पुगेको छैन। चीनले टेरेको छैन। परराष्ट्र प्रवक्ता भरत पौड्याल नाका खुलाउन चिनियाँ पक्षसँग कुरा भइरहेको बताउँछन्। चिनियाँ दूतावाससँग कुरा भइरहे पनि चिनियाँहरु टसकोमस भएका छैनन्। स्वास्थ्य सामग्री किनेर चीनबाट हिँडाउँदा नाका खुलै थियो। खुला भएकाले सामान लोड गरिएको थियो। तर नाका नजिक पुग्नै लाग्दा बन्द गरिएको सिरिन्ज खरिदको टेन्डर सकारेका जनमुक्ति हेल्थ इन्टरप्राइजेजका सेयर होल्डर वीरेन्द्र थापाले जनाएका छन्।

उनका अनसार जंगलको बीचमा अलपत्र कन्टेनरमा ०.०५ एमएल साइजका ११ लाख थान सिरिन्ज छन् । इन्टरप्राइजेजले विभिन्न प्रकृतिका खोपमा प्रयोग हुने सिरिन्ज १ करोड ४५ लाख रुपैयाँमा खरिद गरेर आपूर्ति गर्न गत अप्रिल ९ मा स्वास्थ्य विभागसँग सम्झौता गरेको थियो । सिरिन्ज सियाओ दिङ ट्रान्सपोर्टबाट केरुङसम्म ल्याउन लागिएको हो । रसुवागढी भन्सार प्रमुख पुण्य खड्काले नाका बन्द हुँदा कोभिड–१९ रोकथामका लागि प्रयोग हुने करोडौं मूल्यका स्वास्थ्य सामग्री पनि बाटैमा अलपत्र परेको जानकारी दिए।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech