अर्थतन्त्रको ताजा तस्बिरले किन अर्थविद्हरूलाई आश्चर्यमा पार्‍यो ?

  |   प्रकाशित :

चैतदेखि सुरु भएको लकडाउन अनि जनस्वास्थ्य सङ्कटको अवस्थाका माझ अर्थतन्त्रमा काफी चाप परिरहेको सबैले अनुभव गरेका छन्।

सात प्रतिशतमा वृद्धि हुने आशा गरिएको अर्थतन्त्रको वृद्धि दर शून्यको नजिक पुगिरहँदा केन्द्रीय ब्याङ्कले सार्वजनिक गरेको पछिल्लो विवरणले भने कतिपय अर्थविद्लाई सोचमग्न बनाइदिएको छ। कोरोनाभाइरस महामारीका कारण नेपालको अर्थतन्त्र निकै जोखिममा परेको अर्थविद्हरूले सुरुदेखि नै भन्दै आएका थिए।

लाखौँ युवा विदेशमा काम गर्ने र ती देशमा महामारी फैलिएमा या त उनीहरूको काम गुम्ने या उनीहरू ठूलो सङ्ख्यामा फर्कने चेतावनी दिइएका थिए। तर शुक्रवार जब केन्द्रीय ब्याङ्कले यो आर्थिक वर्षको पहिलो महिना साउनको विवरण सार्वजनिक गर्‍यो त्यसमा फरक तस्बिर देखियो।

विप्रेषणमार्फत् हुने आम्दानी अघिल्लो वर्षको सोही महिनाको तुलनामा यसपाली साउनमा २३ प्रतिशतले बढेर ९२ अर्ब रुपैयाँ नाघेको छ। अर्थतन्त्रको स्थिरतासँग नजिकको साइनो भएका अन्य सूचक पनि सो अवधिमा राम्रै रहेको देखिएको छ।

महँगीको वृद्धि दर जनाउने मुद्रास्फिति पोहोरको तुलनामा पनि कम अर्थात् ३.४९% मात्र रहेको छ भने देशले आम्दानी गर्ने र खर्च गर्ने भुक्तानी सन्तुलन नाप्ने शोधनान्तर स्थिति ५१ अर्बले नाफामा छ। विदेशी विनिमय सञ्चितिको परिमाण १२ अर्ब डलर पुगेको छ।

आयात झन्डै २० प्रतिशतले घटेको छ भने निर्यात झन्डै ९ प्रतिशतले बढेको छ। तर यो अवधिमा व्यापार घाटा अझै पनि ठूलो छ; करिब ७६ अर्ब रुपैयाँ।-बीबीसी

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech