काठमाडौं छिर्नासाथ पीसीआर परीक्षण गराउन जानेलाई यस्तो सुझावः

  |   प्रकाशित :

कोरोनाभाइरस सङ्क्रमणका लक्षण देखिएपछि काठमाण्डूमा बस्दै आएका नवलपरासीका एक पुरुष केही दिनअघि पीसीआर परीक्षण गराउन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगे।

लक्षण भएका तथा नभएका सबैका लागि उही लाइन देखेपछि बिहानदेखि पाँच घण्टाजति लाइन बसेर आफ्नो पालो आएपछि परीक्षण गराई उनी डेरा फर्किए। ‘लाइन हेर्दा त त्यहीँबाट सङ्क्रमण बोकेर मान्छेहरू फर्किरहेका छन् जस्तो लाग्छ ।’ हाल घरमै आइसोलेशनमा बसिरहेका ती पुरुषले भने।

काठमाण्डूमा कपडा सिलाउने काम गर्दै आएका पर्साका अर्का युवकले पीसीआर रिपोर्टविना घरमा छिर्न नदिने घरबेटीको चेतावनीपछि टेकु गई दिनभरि लगाएर परीक्षण गराए। उनले भने, ‘लाइनमा ठेलमठेल भएर त्यहीँबाट सङ्क्रमण सर्छ भन्ने मनमा डर हुँदोरहेछ।’

सरकारले असोज १ गतेबाट लामो दूरीका सवारीसाधन चल्न दिने भएसँगै काठमाण्डू उपत्यकाबाट बाहिरिने तथा भित्रिने मानिसहरूको सङ्ख्या लगभग उस्तै रहेको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाउँछ।

‘असोज १ गतेदेखि १० गतेसम्म १, ९७,०२५ जना काठमाण्डू उपत्यका भित्रिएका छन् भने १, ८७,१७५ जना यहाँबाट बाहिरिएका छन् ।’ महानगरीय ट्राफिक प्रहरीका प्रवक्ता रामेश्वरप्रसाद यादवले भने।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाहिरबाट आएका मानिसलाई १४ दिन घरमै क्वारन्टीनमा बस्न र कुनै लक्षण देखिए मात्रै परीक्षण गराउन अनुरोध गर्दै आए पनि घरबेटीले भाडामा बस्नेलाई परीक्षण गराउन बाध्य पारेको भुक्तभोगीहरूको गुनासो छ।

‘मान्छे आएको पाँच-सात दिनभन्दा अगाडि पीसीआर परीक्षण गराएको कुनै अर्थ नै छैन। सङ्क्रमितसँग अन्तिम सम्पर्क भएको पाँच-सात दिनपछि परीक्षण गर्दा मात्रै सङ्क्रमण देखिने गरेको छ ।’ मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भने। ‘त्यसो हुँदा हातमा निगेटिभ रिपोर्ट भए पनि शरीरमा भाइरस सक्रिय भएर सङ्क्रमण सार्ने खालको सम्भावना हुन्छ, पछिल्लो समय त्यहीँ देखिएको छ।’बीबीसी

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech