'नेपाल र भारतको सम्बन्ध प्राकृतिक हो, चीनसंग व्यावहारिक सम्बन्ध हुन सक्दैन !'

  |   प्रकाशित :

काठमाडौं । नेपाल भारतको प्राकृतिक सम्बन्ध आदिकालदेखि रहि आएको हो । धार्मिक, सामाजिक र साँस्कृतिक आधारमा बनेको सम्बन्धलाई अहिलेको बदलिएको परिवेशमा कृत्रिम ढंगले परिभाषित गर्नु अनुचित नै हुनेछ ।

खुला सिमानाले नेपाल भारत सम्बन्धलाई प्रगाढ बनाएको छ । धार्मिक ,सत्कर्म, साँस्कृतिक कार्य, अवसर, उपभोग्य वस्तुको बेरोकटोक आयात तथा अन्य आवश्यक कार्य हेतु खुला सिमानाको स्वतन्त्रतापूर्वक उपभोग गर्दा दुई स्वतन्त्र देशको भेद मेटिएको जस्तो लाग्थ्यो । नेपालका शासकहंरु किरात, लिच्छवी, मल्ल र शाहवंश भारतबाटै आएर यहाँ शासन गरेकोले भारतको प्रभाव नेपाली समाजमा आदिकालदेखि रहेको छ ।

भारतीय प्रभावकै अभ्यासमा शताब्दियौंपछि नेपाली मौलिक पहिचान बनाउन सफल नेपाली समाजको धार्मिक, सामाजिक, साँस्कृतिक, भाषा, भेषभूषा आदिमा भारतीय झलक अवशेषको रुपमा अहिले पनि पाइन्छ । २००७ सालको परिवर्तन पश्चात हिन्दी भाषालाई पाठ्यक्रममा समावेश गरियो ।

शिक्षकको अभावमा स्कूलदेखि कलेजसम्म पढाउन सक्ने शिक्षकहरु भारतबाट झिकाईए । नेपालको शिक्षामा अतुलनीय योगदान गरेका ती सयकडौं शिक्षकहरु सेवा गरेवापत नेपालको नागरिकता पनि पाए ।

नेपाल भारतको प्राकृतिक सम्बन्ध भनिएको यही कारणले हो । खुला सिमाना र भौगोलिक सुगमताले दुबै देशको अन्योन्याश्रित सम्बन्ध एकपक्षीय रुपमा रहेकोले सानो देशको हैसियतले हेपिएको र चेपिएको अनुभव हुनु स्वाभाविक हो ।

तीनतिरबाट भारतले घेरेको नेपाल भारतमाथि आश्रित हुनुको यो पनि ठूलो कारण हो । संसारमा धेरै राजनीतिक उथल पुथल भएपनि उदयकालदेखि नेपाल स्वतन्त्र राष्ट्रको रुपमा अद्याबधि कायम छ ।

हालाँकि भारतको विस्तारवादी नीतिले नेपाललाई ताकेको अनर्गल प्रचार धेरै पहिलादेखि हुँदै आएको हो र संसारको अराजक परिस्थितिमा नेपालले आफ्नो स्वतन्त्रता बचाएर राख्यो भने अहिले नेपालको सार्वभौम सत्तामाथि खतरा हुने कुनै शंका नै छैन ।

नेपाल दुई महाशक्ति देशबीच अवस्थित छ । समृद्धि हासिल गरेर चीन एक दशकदेखि नेपालमा हस्तक्षेपकारी चासो राखेको छ ।श्रीलंका जस्तै अनुदान र ऋणभारले गुलाम बनाए जस्तै नेपाललाई पनि विकासको नाममा चीनले आफ्नो अनुयायी बनाएको हो ।

भर्खरै पनि ५० अरबको अनुदान सहयोग दिनेबारे अर्थ सचिव र चीनको राजदूतबीच सम्झौता भएको हो । भारतले यति धेरै मात्रामा सहयोग गर्न सक्दैन भन्ने सोचले नेपाल चीनतिर आकर्षित भएको हो । भारतसंग एकपक्षीय सम्बन्धको उदासीनता सोझै चीनसंग गठजोड गर्न पुगेको छ । भारतसंग हेपिएको अनुभव गरेर चीनसंग अप्राकृतिक सम्बन्ध बनाउनुलाई असंलग्न परराष्ट्र नीति मान्न सकिंदैन ।

समृद्ध शक्तिशाली राष्ट्रको रुपमा विकसित भएको चीन अब आफ्नो क्षेत्रफलभित्र अटाउन सकि रहेको छैन । ठाउँ खोज्दै संसारभरि विचरण गर्ने उसको बाध्यता हो । यस क्रममा नेपाललाई आफ्नो प्रभावमा ल्याउन खोजेको हो । भारतसंग चीनको मैत्रीपूर्ण वैरभाव रहेको नेपालको सन्दर्भमा स्पष्ट देखिएको छ ।

नेपालको भारत सम्बन्ध प्राकृतिक हो । चीनसंग व्यावहारिक सम्बन्ध हुनै सक्दैन । विकासको नाममा चीनसंग सानिध्य बढाएपछि भारतलाई चिढाउने कामले यो सरकार सहज रुपले अगाडि बढ्न सक्दैन । भन्नका लागि दुबै देशले कूटनैतिक मैत्रीभावको अभिव्यक्ति दिएपनि सम्बन्ध नराम्रोसंग विग्रेको छ । नेपाल सन्दर्भमा चीन र भारतको शीतयुद्ध नै शुरु भएको छ । यसले नेपालको राजनीतिमा नराम्रो प्रभाव पार्न सक्दछ ।

अन्धराष्ट्रवादको उदय पश्चात नेपाल भारत सम्बन्धमा तनाव बढ्दै गएको हो । अन्धराष्ट्रवादले शक्तिशाली सरकार बनाएपछि उन्माद चरम सीमामा पुगेको छ । पाकिस्तानी प्रधानमन्त्रीलाई ल्याएर भारतलाई मूँहतोड जवाफ दिनु यसै श्रृँखलाको कडी हो । नेपाल भारतको उज्वल भविष्यको लागि भारतसंग सहकार्य गर्ने अभिव्यक्ति कति साँचो रुपमा आउला यसको भने प्रतीक्षा नै गर्नु पर्ला ।

समग्र रूपमा भन्नू पर्दा नेपाल र भारत बिचको सम्बन्ध नराम्रो हुदा सामाजिक,आर्थिक सास्कृतिक ,धार्मिक र राजनीति रूपमा नै ठुलो संकट आउने देख्न सकिन्छ । यति मात्र नभए जुन नेपाल भारत बीच रोटिबेटिको सम्बन्ध छ त्यसकै अस्तित्व समाप्त हुने खतरा उत्पन्न हुन सक्छ। जसका कारण जनताले समस्या भोकु परिरहेको छ ।

नाका बन्दिका कारण व्यापार व्यवसाय ठप्प छ हजारौं लाखौं नागरिकको एक छाक खोसिएको छ । स्वास्थ्य अवस्था गम्भीर छ शिक्षाको अवस्था लथालिंग छ कृषिप्रधान देश भने पनि कृषि सामग्रीको हाहाकार छ । यी समस्या हुनुको कारण नै नाका बन्द हुनु हो ।

यो प्रस्तिथिले नेपाल समाज लाई गतिलो पाठ सिकाए पनि कुनै फरक भने पाउन सकिएको छैन । यसको जिम्मेवारी राजनीतिक दलहरुले लिनु पर्छ । नाका बन्द हुदा लाखौं जनता विस्थापित हुन बाध्य भएका छ्न् यसको जिम्मेवारी पनि सरकारले नै लिनु पर्छ । सँभारः पहरा नेपाल

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech