एमरजेन्सी बाहेकका बिरामीको अप्रेशन नगर्न सरकारको निर्देशन

  |   प्रकाशित :

काठमाडौं । काठमाडौं उपत्यकाका अस्पतालहरुलाई एमरजेन्सी बाहेकका बिरामीको अप्रेशन नगर्न निर्देशन दिएको छ । 

कोरोना भाइरस संक्रमितको संख्या उच्च भएका कारण एमरजेन्सी बाहेकका अन्यको अप्रेशन नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका अस्पतालहरुलाई निर्देशन दिएको हो। 

तत्काललाई अप्रेशन रोके धेरै कोरोना संक्रमितको उपचारमा राहत मिल्ने स्वास्थ्य मन्त्रालयको ठम्याई छ ।  नियमित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता जोगेश्वर गौतमले भने(‘आकस्मिक बाहेकका बिरामीको अप्रेशन नगरे कोरोनाका बिरामीहरुलाई केही हदसम्म आईसीयू र भेन्टिलेटर वेड पाउने अपेक्षा छ ।’

मुलुकमा दिनदिनै कारोना संक्रमितको संख्या बढ्दै छ । आज मात्रै ४ हजार ४७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० पुगेको छ । 

अहिले संस्थागत आइसोलेसनमा १३ हजार ९२३ जना रहेका छन् भने होम आइसोलेसनमा १९  हजार ९५७ जना छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १४ हजार ४३० जनाको पीसीआर परीक्षण भएको छ । आइतबार १४ सय ७३ जना डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ७७ हजार २७७ पुगेको छ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech