Logo

शनिवार, मंसिर १३ गते २०७७

सेनासँग दुश्मनी महंगो पर्‍यो ईश्वर पोखरेललाई, बढुवा भनेर ओलीले लोप्पा खुवाए, अब सूर्य थापाकै हैसियतमा झरे

नेपालपाना आश्विन ३० २०७७
  • 7
    SHARES
  • सेनासँग दुश्मनी महंगो पर्‍यो ईश्वर पोखरेललाई, बढुवा भनेर ओलीले लोप्पा खुवाए, अब सूर्य थापाकै हैसियतमा झरे

    काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुर्‍याइएको छ। नेकपाका नेता कार्यकर्ताले बढुवा गरेर छाया प्रधानमन्त्री बनाएको दावी गरिरहेका छन्। तर प्रधानमन्त्री कार्यालय भनेको जगेडामा राख्ने वा कारवाही गरेर थन्क्याउने ठाउँ हो।

    आफूसँग रिस उठेका र मन नपरेका कर्मचारीलाई थन्क्याउने थलोका रुपमा प्रधानमन्त्री कार्यालय चिनिँदै आएको छ। मन्त्रीका हकमा पनि जगेडा वा विनाविभागीय मन्त्रीलाई थन्क्याउने रुपमा प्रयोग हुँदै आएको छ।

    विगतमा झलनाथ खनालले विना विभागीय मन्त्री घनश्याम भुसाललाई ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेर्ने’गरी जिम्मेवारीले पनि थन्क्याउने थलोका रुपमा पुष्टि हुन्छ। यसअर्थमा पोखरेललाई पनि प्रधानमन्त्री केपी ओलीले बढुवा होइन जगेडामा थन्क्याएका हुन्। त्यसो त पोखरेलले आफै पनि बुझेका छैनन कि रक्षा मन्त्रालय खोसेर प्रधानमन्त्री कार्यालयको जिम्मेवारी बढुवा हो कि घटुवा?

    तर विभागीय मन्त्रालयबाट ल्याएर प्रधानमन्त्री कार्यालय ल्याउनु घटुवा नै हो। पोखरेलले जसरी बुझुन त्यो उनको व्यक्तिगत बुझाई हुनेछ। आम बुझाई यहिँ हो कि ओलीले पोखरेललाई रक्षाबाट तह लगाएका हुन्। अर्थात बढुवा भनेर ओलीले घटुवा गरेर लोप्पा खुवाइदिएका छन्।  

    सूर्य थापाकै हसियत

    अर्कोतिर पोखरेलको सीट प्रधानमन्त्रीका सल्लाहकार बराबरीको भएको छ। एकहिसाबले भन्ने हो भने पोखरेलको हैसियत प्रमका प्रेस सल्लाहकार सूर्य थापाकै लेभलमा पुगेको छ। ओलीले कार्यविभाजनमा ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय’को जिम्मा दिए पनि पोखरेलले गर्ने काम र च्याम्बर स्पष्ट छैन।

    पहिला उपप्रधानका साथै रक्षा मन्त्रालयमा विभागीय मन्त्रीको जिम्मेवारी सम्हालिरहेका थिए। तर अब उनले उक्त मन्त्रालयको कुर्सी प्रयोग गर्न पाउनेछैनन्। न त उनलाई अरु कुनै सिंगल मन्त्रालयको जिम्मेवारी छ।

    प्रधानमन्त्रीय प्रणालीमा ‘मन्त्रिपरिषदको समग्र कामको संयोजन गर्ने’ काम प्रधानमन्त्रीबाटै हुन्छ। यस्तोमा  उपप्रधानमन्त्री पद भनेको आलंकारिक जस्तै हो। आफैंमा कुनै ठोस जिम्मेवारी हुँदैन। उपप्रमले कुनै एक मन्त्रालयलाई आफ्नो च्याम्बर बनाउँछ। यसबाहेक उपप्रधानमन्त्रीको बेग्लै च्याम्बर हुँदैन । यस्तोमा ईश्वर पोखरेल अब बस्ने भनेको सल्लाहकारहरु सूर्य थापा, विष्णु रिमालहरुसँगै भएको राजनीतिक मामिलाका जानकार बताउँछन्। यद्यपि उनको हैसियत र सुविधाचाहिँ उपप्रधानमन्त्री सरहको कायमै छ । तर बसाई भने सल्लाहकार लेभलमै पुगेको छ। 

     

    महंगो पर्‍यो सेनासँगको दुश्मनी

    ईश्वर पोखरेलले रक्षा मन्त्रालयको कुर्सी सम्हालेपछि नेपाली सेनालाई आफू अनुकुल चलाउन खोजे। चेन अफ कमाण्ड र आफ्नै नीतिमा चल्ने सेनालाई आफ्नो स्वार्थका लागि उपयोग गर्न खोजे। तर सेना आफ्नो नीतिमा अडिग रह्यो। रक्षामन्त्री पोखरेलले अहसयोग गर्न थाले। सेना असन्तुष्ट बन्यो। सिधै प्रधानमन्त्रीसँग डिल गर्न थाल्यो। प्रधानमन्त्रीसँग रक्षामन्त्रीको भूमिकाबारे असन्तुष्टि राख्यो। अन्तत: ओली आफ्ना प्रिय पोखरेलबाट रक्षा मन्त्रालय खोसेर आफै चलाउन बाध्य भए। सेनाका अगाडि प्रधानमन्त्रीको पनि केही चलेन। ईश्वरलाई सेनासँगको दुश्मनी महंगो पर्‍यो। 

    विगतमा सेनासँग टक्कर लिँदा प्रचण्डले प्रधानमन्त्री पदबाटै राजीनामा दिनुपरेको थियो। तत्कालिन प्रधानसेनापति रुक्मांगत कटवालले सेना चलाउन खोज्ने सरकारलाई नै चुनौती दिँदै ढाल्न बाध्य पारेका थिए। 

    अहिले ईश्वरले सेनापति पूर्णचन्द्र थापासँग पंगा लिएपछि पदबाट विस्थापित हुनुपरेको छ। प्रधानसेनापति थापासँग ईश्वरको घोचपेच नै भएको थियो। 

    प्रधानसेनापति थापासँग ईश्वरले उनका महत्वाकांक्षी योजनामा टाङ अडाएका थिए। त्यसैगरी राष्ट्रिय महत्वको तराई/मधेस द्रुतमार्ग फास्ट ट्रयाकको निर्माणमा पनि अवरोध पुर्‍याए। सेनाको चेन अफ कमाण्ड भत्काउने प्रयास गरे। सेनामा राजनीतिकरणको प्रयास गरे। 

    प्रधानसेनापति थापाले आर्थिक सुशासनमा शून्य सहनशीलताको नीति लिएर अघि बढिरहेका थिए। उता मन्त्री पोखरेल सेनालाई प्रयोग गरेर आर्थिक लाभ लिने दाउमा थिए। जुन सफल भएन। 

    सेनाले जिम्मा पाएको फास्ट ट्रयाकको परामर्शदाता छनोट र ठेक्कामा मन्त्री पोखरेलले हस्तक्षेप गर्न खोजे। जसका कारण ढिलाई भयो। तर सेनाले नै छनोट गर्‍यो। ईश्वर असफल भए। 

    स्वास्थ्य सामग्री खरीद प्रकरणमा पनि ईश्वरले सेनालाई बदनाम गर्ने प्रयास गरे। अख्तियारलाई छल्न सेनालाई जिम्मेवारी दिए। नचाहँदा नचाहँदै पनि सेनाले स्वास्थ्य सामग्री ल्यायो। तर ईश्वरले त्यसमा पनि बदनाम नै गर्न खोजे। 

    जंगी अड्डा स्रोतका अनुसार सैनिक ऐन संशोधन र कार्यविधि निर्माणको विषयमा पनि रक्षामन्त्री पोखरेलले असहयोग गरे। सैनिकको निवृत्तिभरण अवधि घटाएर १६ वर्ष बनाउने सेनापति थापाको प्रस्ताव पनि पोखरेलले फर्काइदिए । सेनामा रथी दरबन्दी थप्ने प्रस्ताव पनि पोखरेलले अस्वीकार गरे।

    यसरी ईश्वरले लगातार असहयोग र सेनालाई बदनाम गर्नेगरी भूमिका खेलेपछि प्रधानसेनापतिले पटक पटक प्रधानमन्त्री ओलीलाई भेटेर गुनासो गर्‍यो। 

    त्यतिमात्रै होइन मन्त्री पोखरेलले सेनालाई ‘लकिरको फकिर’ भनेपछि सेना र रक्षामन्त्री विश्वासको संकट झनै गहिरिएर गयो। अन्तत: सेनाको दबाबमा ओलीले ईश्वर पोखरेललाई विनाविभागीय बनाएर प्रधानमन्त्री कार्यालयमा थन्क्याए। 


    आश्विन ३०, २०७७ शुक्रवार १९:५५:२७ बजे : प्रकाशित


    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धितसमाचार

    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana