पहिलोपटक खुला रुपमै प्रचण्डले 'इग्नोर' गरे ओलीको प्रस्ताव, प्रधानमन्त्रीविरुद्ध अब एक्सनमा प्रचण्ड

  |   प्रकाशित :

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई इग्नोर गरेका छन्।

पछिल्लो समय ओली पार्टीभित्र एकलौटी रुपमा अघि बढेपछि कार्यकारी अध्यक्ष प्रचण्डमा एक्सनमा उत्रिएका हुन्। प्रचण्डले ओलीलाई असहयोग गर्ने रणनीति लिएका छन्। नेकपामा दुई अध्यक्षबीच सहमति नभई कुनै पनि काम अघि बढ्दैन।

ओलीले शनिवार विहान प्रचण्डलाई कर्णालीमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव प्रकरणमा मुख्यमन्त्री शाही पक्ष र प्रस्ताव ल्याउने यामलाल कँडेल पक्षलाई साथमा राखेर छलफल गर्न बालुवाटार डाँकेका थिए। तर प्रचण्डले बालुवाटार जान अस्वीकार गरे। ओलीको बैठकलाई बहिष्कार गरे।

कर्णालीबाट आएका दुबै पक्षसँग विहीवारै छलफल गर्ने भनिए पनि ओलीले तीन दिनपछि आज समय निकालेका हुन्। प्रचण्डले बिहीवार र शुक्रवार गरी छलफल गरिसकेका छन्। माधव नेपालले पनि छलफल गरेका छन्। अब ओलीले संयुक्त रुपमा छलफल गर्न बोलाउँदा प्रचण्डले म आउँदिन भनेर घुर्की लगाएका छन्। उनले आफै छलफल गर्न जवाफ दिएको प्रचण्ड निकट एक नेताले बताए।

मन्त्रिपरिषद पुनर्गठन, मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव तथा राजदूत नियुक्तिमा एकलौटी गरेपछि पछिल्लो समय प्रचण्ड असन्तुष्ट छन्। कर्णाली प्रदेशबाट मुख्यमन्त्री महेन्द्रबहादुर शाही, पार्टी अध्यक्ष गोरखबहादुर बोगटी, प्रदेश कमिटीका सहइन्चार्ज यामलाल कँडेल, प्रमुख सचेतकबाट निलम्बित गुलावजंग शाह, र प्रदेश कमिटीका सचिव मायाप्रसाद शर्मा, प्रकाश ज्वाला, चन्द्रबहादुर शाहीलगायत तीनै गुटका नेताहरु काठमाडौंमा छन्।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech