देउवाले साथ नदिए पौडेल समूहसँग मिलेर चुनाव लड्ने निधिको तयारी, बुढानीलकण्ठमा कम्पन !

  |   प्रकाशित :

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा १४ औ महाधिवेशन नजिकिँदै छ। कोरोना महामारीमा जेठसम्म सर्ने स्थिति देखा पर्दैछ । जति जति महाधिवेशन नजिकिँदै छ, त्यति नै धेरै दाबेदार देखा परिरहेका छन् ।

यसपालि सभापतिमा संस्थापन पक्षबाट शेरबहादुर देउवाका अलावा विमलेन्द्र निधि पनि उठ्दैछन् । देउवा सभापति फेरि सभापति हुने होडमा छन् भने निधि सके देउवालाई मनाएर सभापतिमा लड्ने र एक्लै पनि प्रतिस्पर्धा गर्ने रणनीतिमा छन् । निधिले यसपालि आफू सभापतिमा लड्ने कुरा देउवालाई भेटेरै जानकारी गराइसकेका छन् । निधि देउवा समूहका बलिया नेता हुन् । आफ्नै समूहका नेताले चुनाव लड्छु देउवालाई कसरी मिलाउने भन्ने आपत् परेको छ ।

यसै सन्दर्भमा सभापतिको मैदानमा होमिने मनस्थिति बनाइसकेका निधिले देउवाले साथ नदिए पौडेल समूहको साथ लिएर अघि बढ्ने तयारी गरेका छन् । यसका लागि उनले प्रकाशमान सिंह, शेखर कोइराला, शंशाक कोइरालासँग कुराकानी सुरु गरेका छन् । निधिले प्रकाशमानलाई आफूलाई सभापतिमा सहयोग गर्न आग्रह गरेका छन् । उनले कांग्रेसका तर्फबाट भावी प्रधानमन्त्रीको उम्मेदवार प्रकाशमानलाई बन्न भनेका छन् । निधिले आफू सभापति बनेर पार्टी चलाउने र प्रकाशमानलाई संसदीय दलको नेता बनेर भावी प्रधानमन्त्रीका रुपमा अघि बढ्न प्रकाशमानलाई प्रस्ताव गरेका छन् ।

प्रकाशमान आफै पनि सभापतिका दावेदार हुन् । तर उनले निधिलाई कुनै जवाफ त दिएका छैनन् । यदि भोलि निधिले देउवा क्याम्प छाडेमा प्रकाशमानसँग समझदारी हुन सक्ने निधि निकट नेताहरु बताउँछन् ।

निधिले शेखर कोइरालासँग पनि भेटेर सभापतिमा सघाउन आग्रह गरेका छन् । पार्टीमा मिलेर जाने निधिको प्रस्ताव छ । यसमा शेखरले कुनै जवाफ दिएका छैनन । शेखर आफै पनि पौडेल समूहबाट सभापतिका दाबेदार हुन् ।

निधिले पौडेल समूहका नेतासँग हिमचिम बढाएपछि बुढानीलकण्ठमा कम्पन पैदा भएको छ। देउवा समूहले निधिले धोका दिएको बताइरहेका छन् । तर देउवाले अघिल्लो पटक सभापतिमा लड्दा एक पटक मात्रै सभापति हुने र अर्कोपालि निधिलाई बनाउने भनेर वचन दिएका थिए । उक्त वचन भुलेर देउवाले फेरि एकपटक आफू लड्ने इच्छा देखाएपछि संस्थापन समूहभित्र निधिले विद्रोह गरेका हुन् ।

अब हेर्न बाँकी छ कि निधि देउवाकै समर्थनमा सभापति लड्छन् कि पौडेल समूहलाई मनाएर । यदि पौडेल समूहलाई मनाएर सभापतिमा लड्ने अवस्था आयो भने क्षति देउवालाई नै हुनेछ । यसतर्फ देउवा सचेत नहुने कुरै भएन ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech