Logo

शुक्रवार, मंसिर १२ गते २०७७

ओली एकलौटी रुपमा अघि बढेपछि वामदेव पनि रुष्ट, धरापमा प्रधानमन्त्रीको कुर्सी !

नेपालपाना कार्तिक ४ २०७७
  • 5
    SHARES
  • ओली एकलौटी रुपमा अघि बढेपछि वामदेव पनि रुष्ट, धरापमा प्रधानमन्त्रीको कुर्सी !

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुष्ट बन्दै उनको साथ छोडेका छन् । व्यक्तिगत रुपमा र पार्टीमा समेत ओलीले आफूसहित सबैलाई पेलेको भन्दै वामदेव अलग्गिएका हुन् । उनले प्रचण्ड र माधव नेपालहरुको समूहमा परामर्श बढाएका छन् । ओली सच्चिने अवस्था नभएको भन्दै हटाउनै पर्ने निष्कर्षमा समेत वामदेव पुगेको उनी निकट एक नेताले बताए ।

    पछिल्लो समय ओलीले वामदेवलाई सर्वोच्चबाट मन्त्री बन्न रोक लगाएका छन् । अर्थ मन्त्रालयमा दावी गरेका वामदेवलाई रोकेर ओलीले आफ्ना विश्वासपात्र विण्णु पौडेललाई मन्त्री बनाएका छन् । यसबाट असन्तुष्ट बनेका वामदेवलाई पार्टीभित्र पनि ओलीका एकलौटी गतिविधिले वितृष्णा बढाएको हो । 

    राजदूत नियुक्ति, कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव, मन्त्रिपरिषद पुनर्गठनमा एकलौटी, जनउत्तरदायित्वबाट पन्छिँदै पार्टी र सरकारको छवि नै ध्वस्त पार्ने निर्णयहरु, जनतामा पार्टी र सरकारप्रति आक्रोश बढाउने गतिविधि, कोरोना परीक्षण र उपचारबाट पन्छिने जस्ता निर्णयले पार्टीलाई ठूलो क्षति पुग्ने र ओलीलाई निरन्तरता दिए बचेखुचेको छवि पनि नामेट हुने वामदेवको निष्कर्ष छ । त्यसो त प्रचण्ड र माधव नेपालहरु पनि ओलीको कार्यशैलीप्रति सुरु देखि नै असन्तुष्ट छन् । एकलौटी गर्ने र सच्याउँछु भनेर सहमति गर्ने तथा फेरि उल्ल्घन गर्ने ओलीको पुरानै चलन हो । तर जब संकट पर्छ तब वामदेव निर्णायक रहँदै आएका छन् । यसपालि भने वामदेव पनि दिक्काएका छन् । यसअघि अस्थिरता निम्तिने भन्दै ओलीलाई हटाउन नमानेका वामदेव अब भने जसरी पनि हटाएर जनताको पक्षमा काम गर्ने नेतृंत्व सरकारमा आउनुपर्ने निष्कर्षमा पुगेका हुन् । 

    आफूले पटक पटक साथ दिँदा पनि धोका भएको भन्दै अब कडा कदम चालेर देखाउने गौतमले तयारी थालेका छन् । गौतमले यसअघि बनेको ओलीविरुद्धको समूहलाई बलियो बनाउने अभियान चलाएका छन् । त्यसका लागि उनले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालसँग छलफल गरिसकेका छन् ।
    वामदेव प्रचण्डतिर ढल्किएसँगै पार्टीभित्र ओली फेरि अल्पमतमा परेका छन् । उनको कुर्सी धरापमा परेको छ । 

    गौतमले अब ओलीको कुनै आश्वासनमा नपर्ने दृढता व्यक्त गरेका छन् । यतिसम्मकी उनले निकटस्थहरुसँग ओलीलाई देखाइदिने सम्मको अवस्थामा पुगिसकेको भनेका छन् । गौतमले अब चाल्ने कदम र नेकपाभित्रको नयाँ शक्ति सन्तुलनले नयाँ राजनीतिक तरंग आउने सम्भावना बढेको छ ।


    कार्तिक ४, २०७७ मंगलवार ०९:४६:०४ बजे : प्रकाशित


    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धितसमाचार

    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana