Logo

शुक्रवार, मंसिर १२ गते २०७७

रसुवागढीमा चीनको अघोषित नाकाबन्दी, सामान रोकिएपछि व्यापारीले गरे आत्महत्या, टुहुरो भयो परिवार

नेपालपाना कार्तिक १४ २०७७
  • 5
    SHARES
  • रसुवागढीमा चीनको अघोषित नाकाबन्दी, सामान रोकिएपछि व्यापारीले गरे आत्महत्या, टुहुरो भयो परिवार

    काठमाडौं । कोरोना भाइरस संकट देखाउँदै चीनले रसुवास्थित केरूङ नाकामा महिनौँदेखि सामान रोकिदिएपछि एकजना व्यवसायीले आत्महत्या गरेका छन्। काठमाडौंको पेप्सीकोलामा बस्दै आएका सिन्धुपाल्चोक बाह्रबिसेका हरेराम पौडेलले दशैँको समयमा आत्महत्या गरेका हुन्। 

    २७ असोज साँझ ३५ वर्षीय पौडेलले पेप्सीकोलास्थित निवासमै पासो लगाएर आत्महत्या गरे हुन्। महानगरीय प्रहरी वृत्त नयाँबानेश्‍वरका अनुसार उनी घरमै मृत भेटिएका हुन्। 

    उनका सात वर्षीय छोरा र १० वर्षीया छोरी छन्। सात वर्षदेखि चीनबाट नेपाल सामान आपूर्ति गर्ने व्यावसाय गर्दै आएका पौडेलको व्यापार राम्रो भइरहेका बेला कोरोना संकट आयो। कोरोना महामारीको बहानामा चीनले लामो समयसम्म नाका बन्द गरिदिँदा उनमा तनाव चुलिँदै गयो।

    प्रहरीले पनि नाकामा सामान थुप्रिएपछि आर्थिक कारोबार लथालिङ्ग हुँदा उनले आत्महत्या गरेको हुन सक्ने जनाएको छ। महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका एक अधिकारीले आत्महत्याको कारण खुल्न नसकेपनि नाकामा सामान रोकिएदेखि उनी तनावमा रहेको थाहा भएको बताए। 

    सामान रोकिएपछि ऋणमा परेका पौडेल परिवारको भरोसा नै टुटेको छ। पारिवारिक श्रोतले पौडेलको व्यापारमा गडबड भएपछि २ करोड रुपैयाँ ऋण लागेको बताएको छ। उनको सामान ११ महिनादेखि चीनको केरुङमा रोकिएको थियो। सामान सीमामै रोकिँदा उनी ऋणमा भासिएका थिए। सीमामा सामान रोकिएपछि बैंकबाट निकालेको ऋण तिर्न उनलाई समस्या भएको थियो। सीमाको सामान नआउने, यता बैंकले तिर्न ताकेता गर्ने यही तनावले उनले आत्महत्या गरेको हुन सक्ने बताइएको छ। 

    नाकामा एक वर्षदेखि अड्किएका सामान ल्याए बेच्न सकिएको छैन, उता चिनियाँ एजेन्टहरुले सामान राखेको भाडा पनि चर्को मूल्यमा असुलिरहेका छन्। भारतबाट दुख पाएका नेपाली व्यापारीले चीनबाट राहत मिल्ने अपेक्षा गरेका थिए। तर भारतले भन्दा बढी सास्ती चीनले दिन थालेपछि व्यापारीहरुले आत्महत्या गर्ने अवस्थामा पुगेको हिमालयन सीमापार व्यापार संघका सचिव नवराज तिमल्सिनाले बताए। 

    केरुङमा चिनियाँ ज्यादतीका कारण भारतको भन्दा कष्ट उत्तरले दिन थालेको व्यापारीहरुले बताएका छन्। कोभिड(१९ का कारण बन्द गरेको यो नाका चीनले ९ असोजमा खोलेको थियो। दैनिक पाँचवटा कन्टेनर चिनियाँहरूले नै नेपाली सीमासम्म ल्याइदिने बताएका थिए। त्यसपछि व्यापारीले राहत हुने अपेक्षा गरेका थिए। 

    क कन्टेनर सामानको ढुवानी सुरुमा ५ हजार आरएमबी ९चिनियाँ युआन० लिएका थिए। तर ७० हजार तिर्नुपर्ने कुरा चिनियाँले गरेपछि व्यापारीहरु तर्सिए। केही व्यापारीले ७० हजार चिनियाँ युआन तिरेर पनि सामान ल्याएका थिए। नेपाली व्यापारीले २४ किलोमिटरकै भाडा १२ लाख रुपैयाँ तिर्न बाध्य भएका छन्। 

    पहिले नेपाली कन्टेनर केरुङबाटै सामान ल्याउँथे। केरुङमा चिनियाँ पक्षले प्रतिकन्टेनर १५ सय युआन अर्थात् २६ हजार नेपाली रुपैयाँ राजस्व लिन्थ्यो । त्यसबाहेक काठमाडौंसम्मको भाडा बढीमा १ लाख रुपैयाँ पर्थ्यो तर अहिले प्रतिकन्टेनर १० देखि साढे १२ लाख रुपैयाँसम्म तिर्नुपर्ने बाध्यता छ। यति ठूलो रकम तिरेर सामान ल्याउनेले ल्याएका छन् नसक्नेको सामान केरुङमै सडिरहेको छ।

    कोभिड(१९ को संक्रमणपछि भने गत पुसदेखि चीनले सबै नाका सिल गरेको थियो। चीनको वुहानमा कोरोना देखिएपछि सीमा सिल हुँदा तातोपानी र केरुङ दुवै नाकामा नेपालीका २ हजार कन्टेनर सामान रोकिएका थिए। केरुङ नाकामा मात्र अझै नेपाली व्यवसायीका १ हजार कन्टेनर सामान थन्किएका छन् । 

    पुसमा सिल गरेको केरुङ नाका गत जेठमा केही दिन खुलेको थियो । तर एक जना नेपाली श्रमिकलाई कोभिड–१९ पोजिटिभ देखिएको बाहनामा चीनले फेरि नाका बन्द गरिदियो । त्यसबेला लोड भएका ८० कन्टेनर सामान नेपाली भूमि पस्नै नपाई केरुङकै घामपानी सहेर बन्द भए ।

    कोरोना पोजिटिभ देखिएका ती कामदार केही समयपछि नै निको भएर काममा फर्किए । अरु चालक र कामदार कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट लिएर सीमावारि पर्खिबसे । तर न त चीनले नाका खोल्ने तदारुकता देखायो, न  नेपाल सरकारले निर्णायक पहलकदमी नै गर्‍यो । 

    नेपाली व्यवसायीहरू सार्वजनिक रूपमै विरोधमा उत्रन थालेपछि ९ असोजमा दैनिक ५ कन्टेनर सामान चीन आफैँले नेपाली भूमिसम्म ल्याइदिन राजी भयो । त्यसका लागि चीनले आफ्ना एजेन्टलाई खटायो । ती एजेन्टले जसले महँगो दस्तुर तिर्छ, उसैका सामान मात्र ढुवानी गरिदिन थालेको छिरिङ फिन्जो लोप्चन बताउँछन्।


    कार्तिक १४, २०७७ शुक्रवार १५:१६:१८ बजे : प्रकाशित


    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धितसमाचार

    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana